२२ अर्बको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै सुनसान, नियमित अन्तर्राष्ट्रिय उडान कहिले
२२ अर्बको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै सुनसान, नियमित अन्तर्राष्ट्रिय उडान कहिले
    • बेल संचार

    • ७ जेष्ठ २०८३, बिहीबार

गण्डकी ।

झन्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको साढे तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको विमानस्थल अहिले मुख्यतः आन्तरिक उडानमै सीमित बनेको छ। सन् २०२५ मा हिमालय एयरलाइन्सले सुरु गरेको पोखरा–ल्हासा नियमित व्यावसायिक उडान पनि यात्रु अभावका कारण एक वर्षमै बन्द भएको विमानस्थल प्रशासनले जनाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार हाल छिटफुट चार्टर उडानबाहेक नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालनमा छैन। यद्यपि मङ्गलबार पहिलोपटक पोखराबाट भारततर्फ मेडिकल चार्टर उडान गरिएको उनले जानकारी दिए।

मुक्तिनाथ दर्शनका क्रममा बिरामी परेका भारतको भोपाल निवासी एक यात्रुलाई श्री एयरलाइन्समार्फत पोखराबाट भारत लगिएको थियो। यो उडानले भविष्यमा पोखरा–भारत नियमित उडानको सम्भावना खोल्ने विश्वास गरिएको छ।

पर्यटन व्यवसायी र निजी क्षेत्रले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग दोहोर्‍याएका छन्। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले भारत र चीनका प्रमुख सहरसँग सीधा हवाई सम्पर्क जोड्न सके पर्यटन र व्यापारमा ठूलो फाइदा पुग्ने बताए।

पर्यटन व्यवसायीका अनुसार विमानस्थल निर्माणपछि पोखराको पर्यटन क्षेत्रमा ठूलो लगानी थपिएको भए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा अपेक्षित लाभ लिन सकिएको छैन। होटल, पर्यटन र सेवा क्षेत्रमा लगानी गरेका व्यवसायीहरू अहिले चिन्तित बनेका छन्।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा ‘पर्यटकीय राजधानी’को अवधारणाले पूर्ण सफलता पाउन नसकेको बताए। उनले सरकारलाई तत्काल कूटनीतिक पहलमार्फत विभिन्न देशसँग उडान अनुमति सुनिश्चित गर्न आग्रह गरे।

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न आवश्यक कूटनीतिक पहल गरिने उल्लेख गरेको छ।

साताकाे चर्चित
सम्बन्धित