पुल बनेपछि सहज हुँदै यात्रा : पश्चिम जाजरकोटमा विकासको नयाँ लहर
पुल बनेपछि सहज हुँदै यात्रा : पश्चिम जाजरकोटमा विकासको नयाँ लहर
    • बेल संचार

    • १० जेष्ठ २०८३, आईतवार

सुर्खेत ।

पश्चिम जाजरकोटका दुर्गम बस्तीहरूलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले करोडौँ रुपैयाँ लागतका पक्की पुल निर्माणले तीव्रता पाएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा विभिन्न खोलामा पुल निर्माण सुरु भएपछि स्थानीयवासीमा विकासप्रति नयाँ आशा जागेको छ ।

जाजरकोट–जुम्ला सडकखण्डअन्तर्गत छेडागाड नगरपालिका–१० र ११ बीच पर्ने लम्तीखोलामा २५ मिटर लामो पक्की पुल निर्माणको काम सुरु गरिएको छ । करिब तीन करोड ४२ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको पुलको जिम्मा बजरङ्गा ग्लोरियस एमबिएस जेभी काठमाडौंले पाएको हो ।

२०८५ वैशाखभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको यो पुलले पश्चिम जाजरकोटका विभिन्न पालिकाबीचको आवतजावत सहज बनाउने अपेक्षा गरिएको छ । हालसम्म पुल अभावका कारण सो खोलामा सात जनाले ज्यान गुमाइसकेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

छेडागाड नगरपालिका–१० का वडाध्यक्ष जयनाथ योगी ले पुल निर्माणपछि स्थानीयको वर्षौंदेखिको समस्या समाधान हुने बताए । उनका अनुसार पुल बनेपछि छेडागाड, कुशे हुँदै जुम्लासम्मको सडक सम्पर्क थप सहज हुनेछ ।

यता, छेडाखोलामा निर्माण गरिएको ४२.७ मिटर लामो बेलिब्रिज भने निर्धारित समयअघि नै सम्पन्न भएको छ । छेडागाड नगरपालिका–६ सुवानाउली र जुनिचाँदे गाउँपालिका–५ लामातारा जोड्ने उक्त पुलले दुई पालिकाबीचको यात्रा सहज बनाएको छ ।

त्यसैगरी शिवालय गाउँपालिका–२ र ८ जोड्ने दुई पीपल सडक पुलको निर्माण कार्य पनि सुरु गरिएको छ । करिब तीन करोड १५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त पुलले स्थानीय यातायात र जनजीवनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

तर, सबै आयोजना सकारात्मक गतिमा छैनन् । छेडाचाँदे–जुम्ला सडकखण्डअन्तर्गत साल्मा खोलामा निर्माणाधीन पक्की पुल भने पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण कम्पनीले दुईवटा पिलर बनाएर काम रोकेपछि स्थानीयले सास्ती भोगिरहेका छन् ।

पुल नबन्दा छेडागाड, जुनीचाँदे र कुशे गाउँपालिकाका नागरिकलाई नेपालगन्ज, सुर्खेत र काठमाडौं आवतजावत गर्न निकै कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । बर्खाको समयमा खोलामा पानी बढ्दा सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता अझै कायम छ ।

स्थानीयले विकासका नाममा सुरु भएका योजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई दबाब दिनुपर्ने बताएका छन् । मध्यपहाडी लोकमार्ग र भेरी करिडोर जोड्ने महत्वपूर्ण क्षेत्रमा पुल निर्माण ढिलाइ हुँदा समग्र विकास प्रभावित बनेको उनीहरूको गुनासो छ ।

साताकाे चर्चित
सम्बन्धित