मिड प्वाइन्ट युवा क्लबद्वारा सामाजिक सेवा र सार्वजनिक सम्पत्ति संरक्षणका दुई महत्वपूर्ण पहल
मिड प्वाइन्ट युवा क्लबद्वारा सामाजिक सेवा र सार्वजनिक सम्पत्ति संरक्षणका दुई महत्वपूर्ण पहल
    • बिर बहादुर राना

    • ३१ जेष्ठ २०८३, आईतवार

जुम्ला,

सिंजा गाउँपालिका–३ नराकोटस्थित मिड प्वाइन्ट युवा क्लबले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै एकै दिन दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ। क्लबले एकातर्फ कोठेसाँघु चिहानघाट संरक्षण तथा व्यवस्थापनको माग गर्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ भने अर्कोतर्फ विपन्न ज्येष्ठ नागरिक तथा टुहुरा बालबालिकाहरूलाई खाद्यान्न, कपडा तथा पौष्टिक आहार वितरण गरेको छ।

क्लबको तर्फबाट धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको कोठेसाँघु चिहानघाटको संरक्षण र व्यवस्थापनका लागि आवश्यक पहल गर्न माग गर्दै सिंजा गाउँपालिका तथा वडा नं. ३ कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको हो। सार्वजनिक सम्पत्तिको संरक्षण सम्पूर्ण समुदायको साझा दायित्व भएकाले चिहानघाट संरक्षणमा सम्बन्धित निकायले आवश्यक कदम चाल्ने विश्वास व्यक्त गरिएको क्लबले जनाएको छ।

यसैबीच, मिति २०८३ असार ३० गते मिड प्वाइन्ट युवा क्लबद्वारा आयोजित “विपन्न ज्येष्ठ नागरिक तथा टुहुरा बालबालिकाहरूलाई खाद्यान्न तथा पौष्टिक आहार वितरण कार्यक्रम” वडा नं. ३ का वडा अध्यक्ष सुरथ बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको छ।

मानवीय सेवाको भावनालाई केन्द्रमा राखी आयोजित कार्यक्रममा नराकोट, धिताललिहि तथा फार्शेवडा क्षेत्रका विपन्न ज्येष्ठ नागरिक तथा अभिभावकको सहारा गुमाएका बालबालिकाहरूलाई खाद्यान्न, कपडा तथा पौष्टिक सामग्री सहयोग प्रदान गरिएको थियो। सहयोग प्राप्त गर्नेहरूमा बाचुकन्या उपाध्याय, मच्चा सार्की, छिता धिताल, राज रोकाय तथा पुनिमल सुनारका दुई नातिनीहरू रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष रावतले युवाहरूले समाजप्रति देखाएको उत्तरदायित्व, सेवाभाव र सामाजिक समर्पणको प्रशंसा गर्नुभयो। उहाँले यस्ता मानवीय तथा सामाजिक गतिविधिले समाजमा सकारात्मक परिवर्तन, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा क्लबका अध्यक्ष हस्त बहादुर हमाल, पदाधिकारी, सदस्य, सल्लाहकार, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थापना भएको छोटो समयमै मिड प्वाइन्ट युवा क्लबले खेलकुद, सामाजिक सेवा, जनचेतना र मानव कल्याणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। क्लबले खेलकुद क्षेत्रमा प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने, प्रशिक्षण तथा प्रतियोगिताहरू सञ्चालन गर्ने, राष्ट्रिय तथा स्थानीय संस्थासँग सहकार्य गर्ने, खेल भावना र अनुशासनको विकास गर्ने, युवाहरूलाई सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने तथा सामाजिक सेवा र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य लिएर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

क्लबले आगामी दिनहरूमा पनि शिक्षा, खेलकुद, सामाजिक सेवा तथा मानव कल्याणसँग सम्बन्धित सेवामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक, नैतिक तथा भौतिक सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा सहभागीहरूप्रति क्लबले हार्दिक आभार व्यक्त गरेको छ।

“अरूको पीडामा साथ दिनु नै साँचो मानवता हो” भन्ने मूल भावनालाई आत्मसात् गर्दै मिड प्वाइन्ट युवा क्लबले समाजसेवा र सामुदायिक विकासका गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित