मुगु
मुगु जिल्लाको छायानाथ–रारा नगरपालिका–१ का वडाध्यक्ष पियार मल्लले वडालाई पाँच वर्षभित्र हिलोमुक्त बनाउने लक्ष्यसहित पूर्वाधार विकासका कामलाई तीव्रता दिएका छन्। सीमित स्रोत–साधनका बाबजुद सडक पूर्वाधार सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको भन्दै स्थानीयवासीले उनको कार्यशैलीको प्रशंसा गरेका छन्।
वडाध्यक्ष मल्लका अनुसार करिब एक करोड ५० लाख रुपैयाँको बजेट व्यवस्थापन गरी छतेलबाडादेखि भाडेकोट विद्यालयसम्मको सडक तथा बस्तीभित्रका विभिन्न सडकलाई हिलोमुक्त बनाउने कार्य सम्पन्न गरिएको छ। केही स्थानमा निर्माण कार्य अझै जारी रहेको उनले बताए।
वर्षौंदेखि वर्षायाममा हिलोका कारण आवतजावतमा सास्ती खेप्दै आएका स्थानीयवासी अहिले सहज रूपमा हिँडडुल गर्न पाएको बताएका छन्। सडक स्तरोन्नतिसँगै दैनिक आवागमन, विद्यार्थीको विद्यालय आवतजावत तथा स्थानीयको जनजीवनमा समेत सहजता आएको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार वडाध्यक्ष मल्ल कार्यालयमा मात्र सीमित नभई गाउँ–टोलमै पुगेर नागरिकका समस्या बुझ्ने, आवश्यकता पहिचान गर्ने र सोहीअनुसार विकास योजना कार्यान्वयन गर्ने शैली अपनाउँदै आएका छन्। यही कारण उनी स्थानीयबीच लोकप्रिय बन्दै गएको बताइन्छ।
युवा समाजसेवी विवेश परियारले वडा नं. १ नगरभित्र विकास निर्माणका दृष्टिले अग्रणी वडाका रूपमा स्थापित हुँदै गएको बताए। उनले जनप्रतिनिधिहरूले जनताको आवश्यकता र मागअनुसार विकासका कामलाई प्राथमिकता दिएमा समग्र विकासले गति लिने विश्वास व्यक्त गरे।