सिलिचोङमा बाढीपहिरोको कहर : विद्युत्, सञ्चार र यातायात सेवा ठप्प, दुई विद्यालयमा पठनपाठन बन्द
सिलिचोङमा बाढीपहिरोको कहर : विद्युत्, सञ्चार र यातायात सेवा ठप्प, दुई विद्यालयमा पठनपाठन बन्द
    • बेल संचार

    • १५ असार २०८३, सोमबार

सङ्खुवासभा ।

सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण विद्युत्, सञ्चार तथा यातायात सेवा अवरुद्ध भएका छन्। प्राकृतिक विपद्का कारण दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठनसमेत पूर्ण रूपमा ठप्प भएको छ।

गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार सिलिचोङ–१ सिसुवाखोलामा आएको बाढीपहिरोले गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएको छ। साथै केन्द्रीय विद्युत् प्रसारण लाइन, माइक्रो हाइड्रो आयोजना, इन्टरनेट तथा सञ्चार सेवा प्रभावित हुँदा सरकारी सेवा प्रवाहसमेत प्रभावित बनेको छ।

पहिरोका कारण गाउँपालिकाभित्रका अधिकांश सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन्। स्थानीय दुईवटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन थप प्रभावित बनेको छ।

पहिरोले सिलिचोङ–१ नेवाटारस्थित कालिका माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्‍याएको छ। शनिबार राति माथिबाट खसेको पहिरोले विद्यालयका १५ वटा कक्षाकोठा चर्किनुका साथै शैक्षिक सामग्रीमा क्षति पुगेपछि पठनपाठन रोकिएको अध्यक्ष मेवाहाङले जानकारी दिए। उक्त विद्यालयमा १७० जना विद्यार्थी अध्ययनरत छन्।

यस्तै, सिलिचोङ–४ स्थित बागेश्वरी आधारभूत विद्यालय पनि पहिरोबाट प्रभावित भएको छ। विद्यालय भवन तथा शैक्षिक सामग्रीमा क्षति पुगेपछि त्यहाँको पठनपाठनसमेत स्थगित गरिएको छ। दुवै विद्यालय उच्च जोखिममा रहेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको गाउँपालिकाले जनाएको छ।

बाढीपहिरोका कारण सिलिचोङ–१ सिसुवाखोलाका ६ घरपरिवार विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। साथै तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगाने क्षेत्रका १०० भन्दा बढी घर उच्च जोखिममा परेका छन्।

जोखिम बढेपछि ती क्षेत्रका स्थानीयवासी घर छाडेर सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसिरहेका छन्। स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका तथा सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको अनुगमन गरिरहेको भए पनि सडक अवरुद्ध हुनु र निरन्तर वर्षा भइरहेका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले प्रभावित बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनःस्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराइदिन आग्रह गरेको छ। साथै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा बस्न र उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित