मौद्रिक नीतिपछि सेयर बजारमा गिरावट, नेप्से ३० अंकले घट्यो
मौद्रिक नीतिपछि सेयर बजारमा गिरावट, नेप्से ३० अंकले घट्यो
    • बेल संचार

    • २४ असार २०८३, बुधबार

काठमाडौं।

नयाँ मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट नै नेपाली सेयर बजारमा गिरावट आएको छ। बुधबार कारोबारमा नेप्से परिसूचक ३० अंकले घटेर २६२१.८५ बिन्दुमा पुगेको हो। अघिल्लो दिन २४ अंकले बढेको बजार आज दिनभर दबाबमा रहँदा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको देखियो।

बजार घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबारमा २५ कम्पनीको मूल्य बढ्दा २४७ कम्पनीको मूल्य घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत सूचकतर्फ लगभग सबै क्षेत्र प्रभावित भए। जलविद्युत् समूह सबैभन्दा धेरै १.७० प्रतिशतले घट्दा बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, लगानी र व्यापार समूह पनि राताम्मे बने।

कारोबारका क्रममा स्नो रिभर्सको सेयर मूल्य सबैभन्दा धेरै ४.३९ प्रतिशतले बढ्यो। विपरीत, कर्पोरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, सानीगढ हाइड्रो र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले उच्च गिरावट व्यहोरे।

बुधबार सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, सानीगढ हाइड्रो, कालंगा हाइड्रो र सिटी होटल रहे।

बजार विश्लेषकहरूका अनुसार मौद्रिक नीतिमा संस्थाको वित्तीय सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था उल्लेख गरिएकाले केही लगानीकर्ता असन्तुष्ट देखिएका छन्। यसले विशेषगरी नेटवर्थ कमजोर रहेका जलविद्युत् कम्पनीहरूको सेयरमा बढी दबाब परेको बताइएको छ।

यस्तै, लगानीकर्ताले अपेक्षा गरेअनुसार मौद्रिक नीतिमा धेरै नयाँ व्यवस्था नआएको, नीति अपेक्षाकृत संक्षिप्त रहेको तथा असार मसान्तमा बैंकको किस्ता भुक्तानीका लागि लगानीकर्ताले सेयर बिक्री बढाएको कारण पनि बजारमा बिक्री चाप बढेको विश्लेषण गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित