स्याङ्जाका स्थानीय तहद्वारा लोकल काठे गाई र हल गोरु संरक्षणमा नगद अनुदान
स्याङ्जाका स्थानीय तहद्वारा लोकल काठे गाई र हल गोरु संरक्षणमा नगद अनुदान
    • बेल संचार

    • २९ असार २०८३, सोमबार

स्याङ्जा ।

स्याङ्जाका विभिन्न स्थानीय तहले लोपोन्मुख लोकल काठे गाई र परम्परागत हल गोरु संरक्षणका लागि किसानलाई नगद अनुदान दिने कार्यक्रम विस्तार गरेका छन् । परम्परागत पशुपालन संरक्षण गर्दै कृषकलाई त्यसतर्फ आकर्षित गर्ने उद्देश्यले पालिकाहरूले प्रोत्साहनमूलक योजना सञ्चालन गरेका हुन् ।

स्याङ्जाका ११ स्थानीय तहमध्ये गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई नगद अनुदान वितरण गरेका छन् भने अर्जुनचौपारी गाउँपालिकाले लोकल काठे गाई पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । यस्तै, बिरुवा गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि हल गोरु पाल्ने कृषकलाई नगद अनुदान दिने नीति लिएको जनाएको छ ।

गल्याङ नगरपालिकाले ११ वटै वडाका ११५ जना कृषकलाई प्रतिकृषक पाँच हजार रुपैयाँका दरले कुल पाँच लाख ७५ हजार रुपैयाँ वितरण गरेको छ ।

नगरप्रमुख गुरुप्रसाद भट्टराईका अनुसार पछिल्लो समय पावर टिलरलगायत आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै जाँदा हल गोरु पाल्ने चलन घट्दै गएको छ । यही अवस्थालाई ध्यानमा राख्दै परम्परागत कृषि प्रणाली संरक्षणका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

उनका अनुसार ११५ जना कृषकबाट ११६ हल गोरुको आवेदन परेपछि सोही आधारमा अनुदान वितरण गरिएको हो । यो कार्यक्रम चालु आर्थिक वर्ष २०८२/८३ को कृषक प्रोत्साहन योजनाअन्तर्गत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

फेदीखोला गाउँपालिकाले पनि विगत चार वर्षदेखि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । यस वर्ष ११ हल गोरुका लागि प्रतिहल १० हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले प्रत्येक दुई वर्षमा हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउने नीति लिएको छ । गत आर्थिक वर्षमा भने ११४ हल गोरुका लागि अनुदान वितरण गरिएको थियो ।

अर्जुनचौपारी गाउँपालिकाले लोपोन्मुख लोकल काठे गाई संरक्षणलाई प्राथमिकतामा राख्दै एउटा काठे गाई पाल्ने कृषकलाई मासिक एक हजार रुपैयाँका दरले वार्षिक १२ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार लोकल काठे गाई राष्ट्रिय सम्पदा भएकाले यसको संरक्षण आवश्यक छ । गाईको गोबर, गहुँत, सिङ तथा हड्डीसमेत विभिन्न प्रयोजनमा उपयोग हुने भएकाले संरक्षणका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

चालु आर्थिक वर्षमा अर्जुनचौपारी गाउँपालिकाले ८१ वटा लोकल काठे गाईका लागि कुल नौ लाख ७२ हजार रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ ।

यसैबीच, बिरुवा गाउँपालिकाले पनि आगामी आर्थिक वर्षदेखि एक हल गोरु पाल्ने कृषकलाई १० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने नीति सार्वजनिक गरेको छ ।

स्थानीय तहहरूले सञ्चालन गरेका यस्ता कार्यक्रमले लोपोन्मुख लोकल काठे गाई तथा परम्परागत हल गोरु संरक्षणका साथै कृषकलाई पशुपालन व्यवसायमा टिकाइराख्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित