जनकपुर।
मिटरब्याजसम्बन्धी विवादमा पीडित एक महिलाले बुधबार जनकपुरधाममा आत्मदाहको प्रयास गरेकी छन्।
जनकपुरधाम उपमहानगरपालिका–४ की फुलकुमारी रजकले धनुषा जिल्ला अदालत अगाडिको सडकमा विरोध प्रदर्शनका क्रममा यस्तो प्रयास गरेकी हुन्।
मिटरब्याजपीडितहरूले अदालत अगाडि नाराबाजी गर्दै प्रदर्शन गरिरहेका बेला रजकले आफूलाई पेट्रोल खन्याएपछि प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई उद्धार गरेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार उद्धारपछि रजकलाई उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
रजकले अदालतबाट आफूले न्याय नपाएको गुनासो गर्दै आएकी थिइन्। घटनापछि प्रहरीले प्रदर्शनको अवस्था र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।