बाजुरा ।
बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि गएको पहिरोमा परी एक युवती बेपत्ता भएकी छन् भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पहिरोमा परी स्थानीय २० वर्षीया प्रतीक्षा थापा बेपत्ता भएकी हुन् । पहिरोमा परेर धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् ।
प्रहरीका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार घाइते थापाको बायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
रावलको टाउको, खुट्टा र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको छ ।
लगातारको वर्षाका कारण आएको पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घरमा पूर्ण क्षति पुगेको छ । सोही पहिरोमा परी धर्म थापाकी छोरी प्रतीक्षा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता युवतीको खोजी तथा उद्धारका लागि प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । खोजी तथा उद्धार कार्यमा सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीसमेत जुटेका छन् ।