काठमाडौं ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्ने भएका छन्। संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि आवश्यक योग्यतासम्बन्धी व्यवस्था परिमार्जन गर्दै बैंकका सीईओलाई पनि योग्य हुने बाटो खुलाएको हो।
नेपाल राष्ट्र बैंक ऐनसम्बन्धी विधेयकमाथि शुक्रबार समितिमा भएको छलफलका क्रममा यस्तो व्यवस्था थप गर्ने निर्णय गरिएको समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए।
सरकारले संसद्मा पेस गरेको विधेयकमा वाणिज्य बैंकका सीईओलाई गभर्नर बन्न योग्य हुने हालको व्यवस्था हटाउने प्रस्ताव गरिएको थियो। तर समितिले छलफलपछि वाणिज्य बैंकको सीईओ पदबाट अलग भएको कम्तीमा दुई वर्षपछि मात्रै गभर्नरका लागि योग्य हुने व्यवस्था राख्ने निर्णय गरेको हो।
समितिले अन्तर्राष्ट्रिय वित्तीय संस्थामा कार्यकारी तहमा अनुभव हासिल गरेका व्यक्तिलाई समेत गभर्नरका लागि योग्य हुने व्यवस्था विधेयकमा समेट्ने निर्णय गरेको छ।
प्रस्तावित व्यवस्थाअनुसार अर्थशास्त्र, मौद्रिक, बैंकिङ, वित्तीय, तथ्याङ्क तथा लेखा, सार्वजनिक प्रशासन, वाणिज्य, व्यवस्थापन वा वाणिज्य कानुनमध्ये सम्बन्धित विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति गभर्नरका लागि योग्य हुनेछ।
त्यसका साथै नेपाल सरकारको विशिष्ट श्रेणी, राष्ट्र बैंकको कार्यकारी निर्देशक, विश्वविद्यालयको प्राध्यापक, अन्तर्राष्ट्रिय वित्तीय संस्थाको कार्यकारी तह वा सोसरहको पदमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था प्रस्तावित छ।
समितिको निर्णयपछि तोकिएको योग्यता र अनुभव पूरा गरेका वाणिज्य बैंकका पूर्वसीईओले पनि पदबाट अलग भएको दुई वर्ष पूरा भएपछि गभर्नरका लागि प्रतिस्पर्धा गर्न सक्नेछन्।
हालको नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा समेत वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुखका रूपमा अनुभव हासिल गरेका व्यक्ति गभर्नर बन्न सक्ने व्यवस्था रहेको छ। समितिमा राष्ट्र बैंकसम्बन्धी विधेयकमाथि थप छलफल जारी रहेको छ।