कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको विद्यालयमा १२ नयाँ कोठा निर्माण
कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको विद्यालयमा १२ नयाँ कोठा निर्माण
    • बेल संचार

    • ७ भाद्र २०८३, आईतवार

बागलुङ ।

लामो समयदेखि कक्षाकोठाको अभावमा पठनपाठन सञ्चालन गर्दै आएको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती माध्यमिक विद्यालयमा १२ नयाँ कक्षाकोठा र आठवटा शौचालय निर्माण भएका छन् ।

गोर्खा वेलफेयर ट्रस्ट नेपालले करिब रु दुई करोड ६८ लाखको लागतमा आठ महिनामै सुविधा सम्पन्न भवन निर्माण गरेपछि विद्यालयको भौतिक पूर्वाधारमा उल्लेख्य सुधार आएको हो ।

नयाँ भवन बनेसँगै विद्यार्थीलाई कक्षा सञ्चालन गर्न सहज भएको विद्यालयका प्रधानाध्यापक थमप्रकाश जैसीले बताए । दुर्गम क्षेत्रमा रहेको विद्यालयमा हाल बालविकासदेखि कक्षा १० सम्म गरी ४३१ विद्यार्थी अध्ययनरत छन् ।

यसअघि पर्याप्त कक्षाकोठा नहुँदा एउटै कोठामा ६० जनासम्म विद्यार्थी राखेर पढाउनुपर्ने अवस्था थियो । विद्यार्थीको चाप बढी भएका कक्षा ५, ७ र ८ लाई दुई समूहमा विभाजन गरेर समेत पठनपाठन सञ्चालन गर्नुपरेको प्रधानाध्यापक जैसीले बताए ।

कक्षाकोठा अभावकै कारण ट्रसको छाप्रो तथा पक्की भवनको भर्‍याङमुनिसमेत कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

नयाँ भवनमा थपिएका १२ कक्षाकोठा र आठ शौचालयले विद्यालयको दैनिक शैक्षिक गतिविधि सहज बनाएको छ । भवन निर्माणपछि प्रयोगशाला, पुस्तकालयलगायत अन्य शैक्षिक प्रयोजनका लागि समेत पर्याप्त स्थान उपलब्ध भएको विद्यालयले जनाएको छ ।

भवन निर्माणमा खर्च भएको रकममा १० प्रतिशत स्थानीयवासीको श्रमदान समेत समावेश रहेको जनाइएको छ । नयाँ पूर्वाधारले दुर्गम क्षेत्रका विद्यार्थीलाई सहज र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउन सहयोग पुग्ने विद्यालयको अपेक्षा छ ।

साताकाे चर्चित
सम्बन्धित