काठमाडौं ।
नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल गरिएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई समेत प्राथमिकता दिँदै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भएको १८औँ संस्करणको अटो शो उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेका हुन्।
यस वर्षको प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे र व्यावसायिक सवारीसाधनका गरी ५३ वटा ब्रान्ड सहभागी छन्। विभिन्न कम्पनीले डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन्।
यसपटकको अटो शोको प्रमुख विशेषतामध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर यात्री पी–२ पनि रहेको छ। विदेशी ब्रान्डका सवारीसाधनसँगै नेपाली उत्पादनलाई एउटै प्रदर्शनीमा राखिनुले मुलुकको अटोमोबाइल उद्योग आयातबाट उत्पादनतर्फ समेत अघि बढिरहेको संकेत गरेको आयोजकको भनाइ छ।
नाडाले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको प्रदर्शनीमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ नामक छुट्टै प्याभिलियन राखिएको छ। उक्त क्षेत्रमा नेपालमा उत्पादन वा एसेम्बल भएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिएका छन्।
नाडाका अनुसार करिब आठ नेपाली उत्पादक प्रदर्शनीमा सहभागी छन्। विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्री उत्पादन गर्ने कम्पनीहरूले आफ्ना उत्पादन राखेका छन्।
यात्रीसँगै एसियन वायरिङ, कोहिनुर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका नेपाली उत्पादकले पनि सहभागिता जनाएका छन्।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपाली अटोमोबाइल क्षेत्रमा उत्पादनको सम्भावना विस्तार हुँदै गएको बताए। उनका अनुसार पछिल्ला पाँच दशकमा नेपालमा सवारीसाधन बिक्री तथा सर्भिसिङसँगै पार्टपुर्जा आपूर्ति, एसेम्बलिङ र उत्पादनका गतिविधिसमेत बढेका छन्।
अटो शोमा यात्रुवाहक सवारीसाधनतर्फ रिडारा, आयोन, जेएमईभी, टाटा ईभी, सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन, बीवाईडी, जीली, ओमोडा, जेको, जेइटोर, एमजी, जीडब्ल्यूएम, लीपमोटर, एमहिरो, स्काइवेल र वुलिङलगायतका ब्रान्ड सहभागी छन्।
लाइट कमर्सियल सवारीसाधनतर्फ फोटोन, सोकोन, किङलङ, हाइगर, फारिजोन, जिनबेई, टाटा मोटर्स कमर्सियल भेहिकल्स, डीएफएसके, कामा, न्यू गोनो अटो, ओकवेल, दीगो, स्काईवर्थ ईभी, डोङफेङ, कावेल अटो, फेइदी र एकता मोटर्सलगायतका कम्पनी रहेका छन्।
दुईपांग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा–अप्रिलिया, एम्पियर, मेटाईभी, जोङसेङ, क्यूजे मोटर्स, मिचे अटो र रिभोल्टलगायतका ब्रान्ड सहभागी छन्।
सवारीसाधनबाहेक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पार्ट्स र ग्यारेज उपकरणसँग सम्बन्धित सामग्रीका २०० भन्दा बढी स्टल प्रदर्शनीमा रहनेछन्।
प्रदर्शनीलाई चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल, मेड फर नेपाल’ र इन्टरनेसनल बिजनेस प्याभिलियनलगायत विभिन्न क्षेत्रमा विभाजन गरिएको छ।
अटो शोमा सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। टिकट खल्ती एपमार्फत अनलाइन खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
प्रदर्शनीस्थलमा पार्किङ, ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
विदेशी ब्रान्डका नयाँ मोडलसँगै नेपाली उत्पादन र एसेम्बल गरिएका सामग्रीलाई समेत समान मञ्च प्रदान गरिएकाले यस वर्षको नाडा अटो शोले नेपालको अटोमोबाइल बजारमा बढ्दै गएको स्वदेशी उत्पादनको सम्भावनालाई समेत उजागर गरेको छ।