काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा अचानक आएको बाढीका कारण रसुवा र नुवाकोटका ८ वटा विद्यालय प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार क्षति पुगेका विद्यालयमध्ये ७ वटा रसुवाका र एउटा नुवाकोटको रहेको जनाइएको छ।
बाढीबाट गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा रहेका विद्यालयमा तुलनात्मक रूपमा बढी क्षति पुगेको छ। टिमुरेस्थित टिमुरे सामुदायिक विद्यालयको भवनमा ठूलो क्षति पुगेको बताइएको छ।
त्यस्तै, रसुवाकै उत्तरगया गाउँपालिकास्थित उत्तरगया विद्यालयमा समेत बाढी पसेको छ। बाढीको जोखिम बढेपछि विद्यालयमा रहेका विद्यार्थीहरू तत्काल सुरक्षित स्थानतर्फ भागेर ज्यान जोगाउन सफल भएको जनाइएको छ।
नुवाकोटको विदुर नगरपालिका–५ स्थित त्रिभुवन त्रिशूल माध्यमिक विद्यालयमा पनि बाढीले व्यापक क्षति पुर्याएको छ। विद्यालय परिसरमा हिलो तथा लेदो जम्नुका साथै बाढीले बगाएर ल्याएका विभिन्न सामग्री थुप्रिएका छन्।
यसैगरी, टिमुरे क्षेत्रमा रहेका तीनवटा निजी तथा दुईवटा सामुदायिक विद्यालयसमेत प्रभावित भएको प्रारम्भिक जानकारी आएको छ। तीमध्ये केही विद्यालयका संरचना बाढीले बगाएको बताइए पनि क्षतिको विस्तृत विवरण तथा विद्यालयको नाम भने अझै यकिन हुन बाँकी छ।
बाढीबाट विद्यालय भवन, कक्षाकोठा तथा शैक्षिक सामग्रीमा समेत क्षति पुगेको हुन सक्ने भएकाले सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको जनाइएको छ।