सुदूरपश्चिममा वर्षा जारी, केही स्थानमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिममा वर्षा जारी, केही स्थानमा भारी वर्षाको सम्भावना
    • बेल संचार

    • १४ भाद्र २०८३, आईतवार

कैलाली ।

सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । धनगढीसहित प्रदेशका धेरै स्थानमा अहिले वर्षा भइरहेको हो ।

अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालयका अनुसार आजदेखि आगामी दुईदेखि तीन दिनसम्म प्रदेशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहका अनुसार प्रदेशका पहाडी क्षेत्रमा मौसम सामान्यतया बदली रहनेछ । धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ ।

तराई क्षेत्रमा पनि मौसम बदली रहने र धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । केही स्थानमा भारी वर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ । हिमाली क्षेत्रमा समेत बदलीसँगै केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने बताइएको छ ।

मौसमविद्का अनुसार आगामी केही दिन लगातार पानी परिरहनेभन्दा पनि केही समय वर्षा हुने र त्यसपछि मौसम खुल्ने क्रम देखिन सक्छ । यद्यपि नदी तथा खोलानाला आसपास र डुबानको जोखिम भएका होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । तराई क्षेत्रमा पनि बदलीसँगै केही स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

यसैबीच, सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनीले कैलाली र कञ्चनपुरका बाढी प्रभावित तथा नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिगविजय सुवेदीका अनुसार पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै मातहतका सुरक्षा इकाइलाई तयारी अवस्थामा राखिएको छ ।

सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै आवश्यक सूचना प्रवाह तथा उद्धार र विपद् व्यवस्थापनका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको बाहिनीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित