काठमाडौं ।
बाढी र पहिरोका कारण पानीका मुहान तथा खानेपानी वितरण प्रणालीमा क्षति पुगेपछि हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।
बाढी प्रभावित क्षेत्रमा हैजा लगायत पानीजन्य रोग फैलिन नदिन तत्काल आवश्यक स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
मन्त्रीको निर्देशनपछि प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोगको निगरानी बढाउने र आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
बाढीका कारण खानेपानीका मुहान दूषित हुनुका साथै वितरण प्रणालीमा समेत क्षति पुगेको अवस्थामा पानीजन्य रोगको जोखिम बढ्ने भएकाले प्रभावित क्षेत्रमा रोकथामका उपायलाई प्राथमिकता दिइएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार सुरक्षित खानेपानीको प्रयोग, सरसफाइमा विशेष ध्यान, रोगको समयमै पहिचान तथा तत्काल उपचारको व्यवस्था प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य संयन्त्र परिचालन गरिएको छ।
प्रभावित क्षेत्रमा हैजा तथा अन्य संक्रामक रोगको अवस्था निरन्तर निगरानी गर्दै आवश्यकताअनुसार थप औषधि, खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउने तयारी गरिएको स्वास्थ्य निकायले जनाएको छ।