तादी नदीमा नेपाली सेनाले बनाउँदै ६० मिटर लामो एक्रो ब्रिज
तादी नदीमा नेपाली सेनाले बनाउँदै ६० मिटर लामो एक्रो ब्रिज
    • बेल संचार

    • २१ भाद्र २०८३, आईतवार

Trisuli flood, Bridge

नुवाकोट ।

भदौ १० गते आएको बाढीले त्रिशूली नदी आसपासका पुल तथा सडक संरचनामा क्षति पुर्‍याएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात र आवतजावत प्रभावित भएको छ।

बाढीका कारण विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन नेपाली सेनाले वैकल्पिक पुल निर्माणको काम अघि बढाएको छ।

नेपाली सेनाको इन्जिनियरिङ फौजले देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिज निर्माणलाई तीव्रता दिएको हो। बाढीबाट क्षतिग्रस्त संरचनाका कारण रोकिएको यातायात सेवा पुनः सञ्चालन गर्ने उद्देश्यले सेनाले पुल निर्माण गरिरहेको जनाएको छ।

निर्माणाधीन एक्रो ब्रिज ६० मिटर लामो र ५.५ मिटर चौडा रहनेछ। पुलले अधिकतम ५० टनसम्म भार धान्न सक्ने क्षमता राख्ने बताइएको छ।

पुल निर्माण सम्पन्न भएपछि देवीघाटसहित आसपासका बस्तीमा आवतजावत सहज हुने र बाढीका कारण प्रभावित यातायात सेवा क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।

नेपाली सेनाले निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाइरहेकाले केही दिनमै पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ। पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाका साथै दैनिक आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई समेत राहत पुग्नेछ।

साताकाे चर्चित
सम्बन्धित