भोटेकोशी बाढीपछि नेपालको पुनर्निर्माणमा सघाउने दक्षिण कोरियाको प्रतिबद्धता
भोटेकोशी बाढीपछि नेपालको पुनर्निर्माणमा सघाउने दक्षिण कोरियाको प्रतिबद्धता
    • बेल संचार

    • २१ भाद्र २०८३, आईतवार

काठमाडौं ।

दक्षिण कोरियाले भोटेकोशी बाढीबाट प्रभावित नेपालमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा कोरियाली पक्षले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको हो।

भेटमा गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भइरहेको खोज तथा उद्धार, राहत वितरण र प्रभावितको अवस्थाबारे छलफल भएको थियो। बाढीमा बेपत्ता भएका कोरियाली नागरिकको खोजीका विषयमा समेत दुवै पक्षबीच कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली तथा अन्तरनिकाय र्‍यापिड रेस्पोन्स टोली परिचालन गरी सहयोग गरेकोमा दक्षिण कोरियाली सरकारप्रति आभार व्यक्त गरे।

मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिँदै मन्त्री खनालले आगामी दिनमा नेपालले विपद् प्रतिरोधी, दिगो र बलियो पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए। यसका लागि दक्षिण कोरियाबाट आगामी दिनमा पनि निरन्तर सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

जवाफमा दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माण प्रक्रियामा नेपाललाई सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताए।

जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासशील मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै मन्त्री ह्युनले जलवायुजन्य विपद्का विषयमा अन्तर्राष्ट्रिय समुदायलाई थप जिम्मेवार बनाउन नेपाल र कोरियाबीच सहकार्य आवश्यक रहेको बताए।

उनले जलवायु परिवर्तनबाट प्रभावित मुलुकले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने आर्थिक तथा अन्य सहयोगका विषयमा दक्षिण कोरियाले समेत आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

भेटवार्ताका क्रममा दुवै देशबीच लामो समयदेखि कायम रहेको मित्रता, आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा पनि सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युन तीनदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्।

साताकाे चर्चित
सम्बन्धित