म्याग्दीमा ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण, एक घण्टाको यात्रा पाँच मिनेटमा
म्याग्दीमा ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण, एक घण्टाको यात्रा पाँच मिनेटमा
    • बेल संचार

    • २४ भाद्र २०८३, बुधबार

म्याग्दी ।

म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं. ४ बाँसबोटलाई जोड्ने ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

म्याग्दी नदीमाथि संघीय सरकारअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन, काठमाडौंको समन्वयमा पुल निर्माण गरिएको हो । पुल सञ्चालनमा आएसँगै धवलागिरिका हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम र काफलडाँडालगायत क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।

उनका अनुसार पुल बनेपछि बाँसबोटका किसानले उत्पादन गर्ने केरालगायत कृषि उपज बजारसम्म पुर्‍याउनसमेत सहज भएको छ ।

पुल निर्माणका लागि २०८२ असारमा रामकृष्ण–सोमरस जेभी र सस्पेन्सन ब्रिज डिभिजनबीच १ करोड ६४ लाख १५ हजार २५४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । १८ महिनाको ठेक्का अवधि तोकिए पनि निर्माण कम्पनीले निर्धारित समयअगावै काम सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि प्रविन सापकोटाले बताए ।

पुल निर्माण सम्पन्न भएसँगै यसै महिनाबाट सर्वसाधारणका लागि खुला गरिएको हो ।

धवलागिरि गाउँपालिका–७ का राजकुमार कोइरालाका अनुसार पुल सञ्चालनमा आएपछि स्थानीयको यात्रा समय उल्लेख्य रूपमा घटेको छ । उनका अनुसार पहिले करिब एक घण्टा लाग्ने बाटो अहिले पुलका कारण करिब पाँच मिनेटमै पार गर्न सकिने भएको छ ।

स्थानीयवासीले पुलले आवतजावतसँगै क्षेत्रको पर्यटन विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरेका छन् ।

म्याग्दीमा सात वटा लामा झोलुङ्गे पुल

धवलागिरि गाउँपालिकामा यसअघि नै ३०० मिटरभन्दा लामा दुई वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् । गत वर्ष वडा नं. ६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा ३६५ मिटर तथा वडा नं. ३ फलियागाउँ र दर जोड्ने दरखोलामाथि ३६६ मिटर लामो पुल निर्माण गरिएको थियो ।

नयाँ ३०३ मिटरको पुलसमेत थपिएसँगै म्याग्दीमा ३०० मिटरभन्दा लामा झोलुङ्गे पुलको संख्या सात पुगेको छ ।

जिल्लामा रघुगंगा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५.८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर तथा अन्नपूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने ३४४ मिटर लामो झोलुङ्गे पुलसमेत निर्माण भइसकेका छन् ।

साताकाे चर्चित
सम्बन्धित