बाँके ।
जेनजी’ प्रदर्शनका क्रममा आगजनीबाट नष्ट भएका जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) सम्बन्धी स्रेस्ता पुनः कायम गर्ने काम भूमि प्रशासन कार्यालय नेपालगन्ज, बाँकेले तीव्र बनाएको छ।
कार्यालयका अनुसार गत मंसिरदेखि २०८३ असार मसान्तसम्म ३१ हजार १८९ वटा जग्गाको स्रेस्ता कायम गरिएको छ।
विसं २०८२ भदौ २४ गते भएको आगजनीमा भूमि प्रशासन कार्यालयको भवनसहित महत्वपूर्ण कागजात तथा अभिलेख जलेर नष्ट भएका थिए। त्यसपछि असोज र कात्तिक दुई महिनासम्म कार्यालयबाट नियमित सेवा प्रभावित भएको थियो। मंसिर १ गतेदेखि भने भाडाको भवनबाट सेवा पुनः सञ्चालन गरिएको हो।
भूमि प्रशासन कार्यालय नेपालगन्जका प्रमुख सन्तोष विकका अनुसार आगजनीमा नष्ट भएका अभिलेख पुनः कायम गर्ने प्रक्रिया निरन्तर अघि बढिरहेको छ। सेवाग्राहीको चाप बढ्दा भीड हुने भए पनि सेवा प्रभावित नहुने गरी काम भइरहेको उनले बताए।
उनका अनुसार विसं २०७४ पछिका अधिकांश स्रेस्ता डिजिटल प्रणालीमा सुरक्षित रहेकाले ती अभिलेख पुनः कायम गर्न तुलनात्मक रूपमा सहज भएको छ। तर २०७४ भन्दा अघिका अभिलेखमा जग्गा रोक्का रहे–नरहेको यकिन गर्नुपर्ने भएकाले केही प्रक्रियागत समय लाग्ने गरेको छ।
पुराना अभिलेखका सम्बन्धमा आवश्यक सूचना सार्वजनिक गर्नुपर्ने लगायतका कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले त्यस्ता स्रेस्ता कायम गर्न बढी समय लाग्ने कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख विकले मालपोत तथा भूमि प्रशासन कार्यालयमा सेवा लिन लामो समय लाग्ने भन्ने आमधारणा सबै अवस्थामा सही नभएको बताए। सेवाग्राहीले आवश्यक प्रक्रिया नबुझेका कारण पनि काममा ढिलाइ हुने गरेको उनको भनाइ छ।
सेवाग्राहीलाई प्रक्रियाबारे जानकारी तथा आवश्यक समन्वय उपलब्ध गराउन कार्यालयले सेवाग्राही सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ। लेखापढी व्यवसायीमार्फत सेवा लिँदा अतिरिक्त आर्थिक भार पर्न सक्ने भएकाले सहायता कक्षबाट आवश्यक जानकारी तथा सहयोग लिन कार्यालयले सेवाग्राहीलाई आग्रह गरेको छ।
विभागको अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएको अवस्थामा बाहेक सेवाग्राहीको काममा अनावश्यक ढिलाइ हुन नदिने गरी सेवा प्रवाह गरिरहेको कार्