धनगढी ।
धनगढीमा ईभी हाइसको ठक्करबाट एक पैदलयात्री युवकको मृत्यु भएको छ। दुर्घटनामा संलग्न हाइसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–३ फाप्लास्थित हुलाकी सडकखण्डमा बुधबार राति करिब १० बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५८० नम्बरको ईभी हाइसले पैदल हिँडिरहेका धनगढी–३ चटकपुरका १८ वर्षीय कालु रानालाई ठक्कर दिएको थियो।
हाइसको ठक्करबाट गम्भीर घाइते भएका रानालाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। उपचारका क्रममा चिकित्सकले राति ११ः१० बजे उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ।
दुर्घटनापछि हाइससहित चालक घटनास्थलबाट फरार भएका थिए। प्रहरीले खोजी गर्ने क्रममा बिहीबार बिहान करिब ६ः५० बजे चालकलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सीनाका अनुसार कञ्चनपुरको लालझाँडी गाउँपालिका–५ का ४५ वर्षीय लोकेन्द्र पाण्डेय पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पाण्डेयलाई गोदावरी नगरपालिका–२ अत्तरिया चोकबाट पक्राउ गरी धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित ईभी चार्जिङ स्टेसनबाट हाइससमेत नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका चालक र नियन्त्रणमा लिइएको हाइसलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।