रसुवा बाढीपछि तुइन र झोलुङ्गे पुल पुनर्निर्माण तीव्र, चार तुइन सञ्चालनमा
रसुवा बाढीपछि तुइन र झोलुङ्गे पुल पुनर्निर्माण तीव्र, चार तुइन सञ्चालनमा
    • बेल संचार

    • ६ आश्विन २०८३, मंगलवार

काठमाडौं ।

रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त भएका तुइन तथा झोलुङ्गे पुलको मर्मत र पुनर्निर्माणलाई सरकारले तीव्रता दिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार बाढीपछि हालसम्म चार स्थानमा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

मन्त्रालयका अनुसार नुवाकोटको इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन सञ्चालनमा ल्याइएको छ। त्यसैगरी नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ अन्तर्गत स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्र तथा गोसाइँकुण्ड–६ र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने हाकुबेंसीमा पनि तुइन सञ्चालनमा आएका छन्।

थप तीन स्थानमा तुइन जडानका लागि आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने क्षेत्रमा तुइन निर्माणका लागि देखिएको विवाद समाधान भएको छ। स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने माइन क्षेत्रका कारण स्थान परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ। रसुवाको रुङ्गामा तुइन जडानका लागि स्थलगत अध्ययनसमेत भइरहेको मन्त्रालयले जनाएको छ।

यसैगरी बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत कार्य पनि अघि बढाइएको छ। मन्त्रालयका अनुसार १३ वटा पुल मर्मतको काम अन्तिम चरणमा पुगेको छ। धादिङ, नुवाकोट र गोरखाका विभिन्न स्थानमा रहेका पुलमा आवश्यक मर्मत तथा संरचना सुधारको काम भइरहेको छ।

थप क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक सामग्री खरिद प्रक्रिया पनि अघि बढाइएको छ। पुल मर्मतमा प्रयोग हुने स्टिल पार्ट्सलगायत सामग्रीको पहिलो चरणको खरिद सम्पन्न भइसकेको र थप सामग्रीका लागि प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ।

बाढीबाट पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुल भने पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन्। ती पुलको पुनर्निर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाइसकिएको छ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा यातायात तथा आवतजावत सहज बनाउन सरकारले झोलुङ्गे पुल, तुइनलगायत वैकल्पिक संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ। बाढीबाट क्षतिग्रस्त पुल तथा अन्य पूर्वाधारको पुनर्स्थापनालाई समग्र पुनर्निर्माण योजनासँग जोडेर अघि बढाइएको मन्त्रालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित