बालेन आज अमेरिका जाँदै, विमानस्थलमा पुरानै शैलीको तामझाम नहुने
बालेन आज अमेरिका जाँदै, विमानस्थलमा पुरानै शैलीको तामझाम नहुने
    • बेल संचार

    • ६ आश्विन २०८३, मंगलवार

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गर्दैछन्। न्युयोर्क भ्रमणका क्रममा प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दै नेपालले भोगिरहेको जलवायु संकट र जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी छ।

प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा विगतमा देखिँदै आएको औपचारिक बिदाइको शैली भने यसपटक फरक हुने जनाइएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार विमानस्थलमा नेपाली सेनाबाट सलामी दिने तथा मन्त्री, सरकारी पदाधिकारी र उच्चपदस्थ कर्मचारी ठूलो संख्यामा उपस्थित भएर बिदाइ गर्ने परम्परा यसपटक नहुने भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार शाह मंगलबार बिहानदेखि नै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित काममा व्यस्त छन्। साँझ करिब सवा ६ बजे बालुवाटारस्थित निवासबाट विमानस्थलतर्फ जाने उनको कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शाह करिब ७ बजे काठमाडौं विमानस्थलबाट अमेरिकाका लागि प्रस्थान गर्नेछन्। उनको टोलीका सदस्यहरू प्रधानमन्त्री पुग्नुअघि नै विमानस्थल पुग्ने तयारीमा छन्।

प्रधानमन्त्री शाह विमानस्थलको भीआईपी क्षेत्र हुँदै सिधै विमानतर्फ जाने र त्यहाँ लामो समय नबस्ने तयारी रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। विगतमा प्रधानमन्त्रीको बिदाइ तथा स्वागतका लागि विमानस्थलमा सरकारी अधिकारीहरूको ठूलो उपस्थिति हुने गरेकोमा यसपटक त्यसलाई निरन्तरता नदिइने स्रोतको भनाइ छ।

यसअघि विदेश भ्रमणमा जाने र फर्किने क्रममा प्रधानमन्त्रीलाई बिदाइ तथा स्वागत गर्न उच्च सरकारी अधिकारीदेखि विभिन्न तहका कर्मचारीसम्म विमानस्थल पुग्ने गरेका थिए। यसपटक भने त्यस्तो भीडभाड नगर्ने नीति लिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री शाहको न्युयोर्क भ्रमणको मुख्य उद्देश्य संयुक्त राष्ट्रसंघको महासभामा नेपालको धारणा प्रस्तुत गर्नु हो। महासभामा उनले भोटेकोशी बाढीलगायत नेपालले पछिल्लो समय भोगेका विपद् र जलवायु परिवर्तनका प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय छलफलमा सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा जलवायु न्याय, विपद्पछिको पुनर्निर्माण तथा जलवायु जोखिममा रहेका हिमाली मुलुकका सरोकारलाई समेत नेपालले उठाउने तयारी गरेको छ।

साताकाे चर्चित
सम्बन्धित