काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको विवादमा सम्झौताको विकल्प खुला राख्दै असहमति कायम रहे इरानी शासनलाई ध्वस्त पार्नेसम्मको चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानले आणविक कार्यक्रम र अन्य सुरक्षा विषयमा अमेरिकी माग पूरा नगरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन्। उनले इरानसँग सम्झौता गरेर पुनर्निर्माण र आर्थिक विकासको बाटो खोल्ने वा ‘इस्लामिक गणतन्त्र’लाई समाप्त गर्ने भन्ने विकल्प रहेको बताएका छन्।
यसअघि पनि ट्रम्पले अप्रिल ७ मा सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानसँग सम्झौता नभए ‘पूरै सभ्यताको अन्त्य’ हुन सक्ने चेतावनी दिएका थिए। त्यतिबेला उनको उक्त अभिव्यक्तिलाई लिएर अमेरिकी राजनीतिमा समेत व्यापक बहस भएको थियो।
महासभामा बोल्दै ट्रम्पले अमेरिकाले इरानको आणविक क्षमता विकास गर्ने प्रयास र ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई रोक्न सैन्य कारबाही गरेको दाबी गरे। इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने आफ्नो नीति कायम रहेको उनको भनाइ थियो।
ट्रम्पले इरानी शासनमाथि लामो समयदेखि हिंसा र आतंकवादलाई समर्थन गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायलाई तेहरानमाथि आर्थिक दबाब कायम राख्न आग्रह गरे। इरानले आणविक कार्यक्रम, मिसाइल क्षमता र आतंकवादी गतिविधिमा सहयोगसम्बन्धी नीति परिवर्तन नगरेसम्म उसलाई अन्तर्राष्ट्रिय रूपमा दबाबमा राख्नुपर्ने उनको धारणा थियो।
महासभामा ट्रम्पले आगामी अमेरिकी मध्यावधि निर्वाचनले इरानसम्बन्धी आफ्नो नीतिमा परिवर्तन नल्याउने पनि बताएका छन्। आफू आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार नरहेको उल्लेख गर्दै उनले इरानले अमेरिकी निर्वाचनको परिणाम पर्खेर बस्नुको अर्थ नरहेको बताए।
ट्रम्पले इरानमाथि अमेरिकी सैन्य कारबाहीको बचाउ गर्दै बोल्न थालेपछि इरानी प्रतिनिधिमण्डलका सदस्यहरू महासभा हलबाट बाहिरिएका थिए। केही समयपछि हलमा इरानको तर्फबाट एक जना प्रतिनिधि मात्र बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसैगरी, क्युबाली सरकारमाथि ट्रम्पले गरेको आलोचनापछि क्युबाको प्रतिनिधिमण्डलले पनि महासभा कक्ष छाडेको थियो। ट्रम्पले क्युबालाई ‘असफल राज्य’का रूपमा चित्रित गर्दै त्यहाँ राजनीतिक परिवर्तन आउने दाबी गरेका थिए।
ट्रम्प प्रशासनले क्युबामाथि दबाब बढाउँदै आएको छ। महासभामा उनले क्युबाको कम्युनिस्ट शासनमाथि थप दबाब आवश्यक रहेको बताएका थिए।
ट्रम्पको सम्बोधनअघि इरानी विदेशमन्त्री अब्बास अरागचीले अन्तर्राष्ट्रिय संस्थाप्रति विश्वास पुनर्स्थापित गर्नुपर्ने धारणा राखेका थिए। इरानी पक्षले पछिल्लो घटनाक्रमपछि कूटनीतिक विश्वासको वातावरण कमजोर भएको बताउँदै आएको छ।
यसैबीच, ट्रम्पको इरानसम्बन्धी अभिव्यक्तिलाई लिएर अमेरिकाभित्र र अन्तर्राष्ट्रिय स्तरमा फरक–फरक प्रतिक्रिया देखिएका छन्। आलोचकहरूले उनको सैन्य धम्कीपूर्ण भाषालाई लिएर प्रश्न उठाएका छन् भने ट्रम्प प्रशासनले इरानलाई वार्तामा ल्याउन दबाब दिने रणनीतिका रूपमा आफ्नो नीति प्रस्तुत गर्दै आएको छ।
महासभामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि अन्तर्राष्ट्रिय व्यवस्था बलियो बनाउन संयुक्त राष्ट्रसंघको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन्। उनले शक्ति र बलका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन हुने अवस्थाभन्दा नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको पक्षमा उभिनुपर्ने बताएका छन्।