पोखरा ।
सम्भावित भारी वर्षासँगै बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै पोखरा महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन स्थानीय बिदा दिएको छ।
महानगरपालिकाका अनुसार असोज ८ र ९ गते महानगरभित्र सञ्चालित विद्यालयमा पठनपाठन बन्द रहनेछ। मौसममा आएको परिवर्तन र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै पूर्वसावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यालय बन्द गरिएको दुई दिनको बिदा आगामी दिनमा दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने बताएका छन्।
महानगर प्रमुख आचार्यले विद्यार्थी, अभिभावक, शिक्षक तथा नगरवासीलाई प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने जोखिमप्रति सचेत रहन र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले पनि सम्भावित भारी वर्षा तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालयमा बिदा दिन आग्रह गरेको थियो।
मौसम पूर्वानुमानअनुसार गण्डकीसहित विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
महानगरपालिकाले पनि यस अवधिमा बालबालिकालाई नदी, खोला तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन र सम्भावित विपद्को अवस्थामा सुरक्षित स्थानमा रहन अभिभावक तथा नगरवासीलाई आग्रह गरेको छ।