रुसले ४७ देशका नागरिकलाई युद्धमा प्रयोग गरिरहेको जेलेन्स्कीको दाबी
रुसले ४७ देशका नागरिकलाई युद्धमा प्रयोग गरिरहेको जेलेन्स्कीको दाबी
    • बेल संचार

    • ८ आश्विन २०८३, बिहीबार

काठमाडौं ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई प्रयोग गरिरहेको दाबी गरेका छन्। ती देशमध्ये नेपाल पनि रहेको उनले बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले विभिन्न उपाय, छलकपट र प्रलोभनमार्फत विदेशी नागरिकलाई आफ्नो पक्षमा ल्याएर युद्धमा संलग्न गराइरहेको दाबी गरे।

उनले नेपालसहित घाना, ताजिकिस्तान, भारत, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकाका नागरिक रुसी युद्धमा प्रयोग भइरहेको उल्लेख गरे। जेलेन्स्कीले ४७ देशका नागरिकसम्बन्धी आफ्नो दाबीको विस्तृत संख्या भने सार्वजनिक गरेनन्।

सम्बोधनका क्रममा उनले ती देशका सरकारलाई आफ्ना नागरिकको अवस्थाबारे ध्यान दिन आग्रह गर्दै उनीहरूलाई रुस–युक्रेन युद्धको थप मोर्चामा पुग्न नदिन अपिल गरे।

जेलेन्स्कीले रुसी सेनामा विदेशी नागरिकको संलग्नता आफ्नो देशका लागि मात्र नभई सम्बन्धित नागरिकका देशका लागि समेत चासोको विषय भएको बताए। उनले रुसी पक्षले विभिन्न माध्यमबाट विदेशी नागरिकलाई युद्धमा ल्याइरहेको आरोप लगाउँदै सम्बन्धित सरकारहरूलाई आवश्यक कदम चाल्न आग्रह गरे।

उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्य देशलाई समेत युद्धमा तान्न खोजिरहेको आरोप लगाउँदै आफ्ना नागरिकलाई यस द्वन्द्वमा संलग्न हुन नदिन सम्बन्धित देशका प्रतिनिधिहरूलाई आग्रह गरे।

जेलेन्स्कीको पछिल्लो भनाइसँगै रुसी सेनामा विदेशी नागरिकको भर्ती तथा प्रयोगबारे अन्तर्राष्ट्रिय चासो फेरि बढेको छ। नेपाललाई समेत ४७ देशको सूचीमा उल्लेख गरिए पनि रुसी सेनामा कति नेपाली नागरिक संलग्न छन् भन्ने विवरण उनले आफ्नो सम्बोधनमा खुलाएका छैनन्।

नेपालसम्बन्धी दाबी जेलेन्स्कीको वक्तव्यमा आधारित रहेको र यसमा नेपाली नागरिकको वास्तविक संख्या वा उनीहरू कुन परिस्थितिमा रुसी सेनामा पुगे भन्नेबारे छुट्टै विवरण सार्वजनिक नभएको विषयलाई समेत ध्यान दिनुपर्ने देखिन्छ।

साताकाे चर्चित
सम्बन्धित