काठमाडौं ।
जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ३४–२५ अंकले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। जापानको तोकाइ सिटिजन जिम्नेजियममा भएको खेलमा नेपालले सुरुदेखि नै अग्रता कायम राखेको थियो।
पहिलो हाफमा नेपाल १९–१३ ले अघि थियो। दोस्रो हाफमा पनि नेपालले १५–१२ को अग्रता कायम राख्दै समग्रमा ९ अंकको अन्तरले खेल आफ्नो पक्षमा पारेको हो।
नेपालले समूह चरणमा यसअघि थाइल्यान्डलाई ४६–४३ ले हराएको थियो भने चाइनिज ताइपेइसँग ३७–१८ को हार बेहोरेको थियो।
समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनलमा पुगेको छ। प्रतियोगिताको नियमअनुसार सेमिफाइनल पुग्ने टोलीले कम्तीमा कांस्य पदक सुनिश्चित गर्छन्।
अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार सेमिफाइनल खेल्नेछ। नेपालले यसअघि १९औं एसियाली खेलकुदमा पनि महिला कबड्डीतर्फ कांस्य पदक जितेको थियो।