स्याङ्जा ।
लगातारको वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि बन्द गरिएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको छ ।
कालीगण्डकी–५ बेल्टारीस्थित आयोजनाको उत्पादन नदीमा पानीको बहाव उच्च भएपछि सुरक्षाका कारण चार दिनदेखि बन्द थियो । अहिले नदीको सतह घट्दै गएपछि आयोजनाले उत्पादन पुनः सञ्चालनको तयारी थालेको हो ।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार बाढीका कारण सुरुङभित्र जम्मा भएको हिलो हटाउने तथा पावर हाउसको अवस्थाबारे प्राविधिक निरीक्षण गर्ने काम गरिएको छ । आवश्यक जाँचपछि बिहान १० बजेदेखि विद्युत् उत्पादन सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए ।
उनका अनुसार नदीमा असामान्य रूपमा पानीको बहाव बढेपछि जोखिम न्यूनीकरणका लागि उत्पादन बन्द गरिएको थियो । अहिले बाढीपछिको अवस्थाको प्राविधिक टोलीबाट निरीक्षण भइसकेकाले सञ्चालनको तयारी गरिएको हो ।
कालीगण्डकी नदीमा बाढी आएपछि मिर्मीस्थित आयोजनाको बाँधका सबै ढोका खोलेर पानी नदीतर्फ छाडिएको थियो । १४४ मेगावाट क्षमताको आयोजना बन्द हुँदा विद्युत् उत्पादन तथा प्रणालीमा समेत असर परेको थियो ।
यसैबीच, लगातार चार दिनदेखि परेको वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजारसमेत डुबानमा परेको छ । बाढीका कारण प्रभावित २६ घरपरिवारलाई नजिकैको विद्यालयमा स्थानान्तरण गरी राखिएको छ ।
आयोजनाको बाँधस्थलभन्दा केही तल स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएको छ ।