दार्चुलामा लटरम्म स्याउ, बजार र ढुवानी अभावले किसान चिन्तित
दार्चुलामा लटरम्म स्याउ, बजार र ढुवानी अभावले किसान चिन्तित
    • बेल संचार

    • १२ आश्विन २०८३, सोमबार

दार्चुला ।

अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा यस वर्ष स्याउको उत्पादन राम्रो भएको छ । गाउँका करिब ५० परिवारले परम्परागतसँगै व्यावसायिक रूपमा गर्दै आएको स्याउखेतीमा कलमी, गाला र इटालियन फुजीलगायत उन्नत जातका स्याउ प्रशस्त फलेका छन् ।

तर उत्पादन राम्रो भए पनि बजार र ढुवानीको उचित व्यवस्था नहुँदा किसानले स्याउ बिक्री गर्न समस्या झेलिरहेका छन् । हिमालयन कृषि फार्मका सञ्चालक कपुरसिंह धामीका अनुसार उनको फार्ममा ५०० भन्दा बढी स्याउका बोट छन्, जसबाट यस वर्ष करिब १५ देखि २० क्विन्टल उत्पादन भएको छ ।

धामीका अनुसार गाउँमा धेरै परिवारले स्याउखेती गर्दै आएका छन् । तीमध्ये करिब १० देखि १२ परिवारसँग एक सयभन्दा बढी बोट रहेका छन् । केही किसानले गाउँमै बिक्री गरेका छन् भने कतिपयले आफन्त तथा चिनजानका व्यक्तिलाई दिएका छन् ।

धामीले आफूले उत्पादन गरेको करिब १० क्विन्टल स्याउ अझै बिक्री हुन बाँकी रहेको बताए । गाउँमै प्रतिकिलो एक सय रुपैयाँका दरले करिब एक क्विन्टल बिक्री भए पनि मुख्य बजारसम्म स्याउ पुर्‍याउन ढुवानी निकै कठिन रहेको उनको भनाइ छ । गाउँबाट गाडी पुग्ने स्थानसम्म स्याउ लैजानै एक दिन लाग्ने भएकाले बजारमा पुर्‍याएपछि बिक्री हुने वा नहुने अन्योल रहेको उनले बताए ।

अपी हिमाल–३ कै कसौती गाउँमा जनकसिंह कार्कीले पनि व्यावसायिक स्याउखेती गरेका छन् । पाथाभन्दा थप दुर्गम र टाढा रहेको कसौतीमा उत्पादित स्याउ बजारसम्म पुर्‍याउन झनै कठिन हुने भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच, पाथा गाउँमा घरेलु तथा साना उद्योग विकास कार्यालयले करिब तीन वर्षअघि निर्माण गरेको चिस्यान केन्द्रमा समेत स्याउ भण्डारण गरिएको छ । हाल कपुर धामीको करिब १० क्विन्टलसहित अन्य किसानको गरी १५ देखि २० क्विन्टल स्याउ केन्द्रमा थन्किएको छ ।

विद्युत् आपूर्ति नियमित नहुँदा चिस्यान केन्द्रको प्रभावकारी प्रयोगमा समस्या रहेको किसानहरूको भनाइ छ । लामो समयसम्म स्याउ भण्डारण गर्दा गुणस्तरमा असर पर्न सक्ने भन्दै किसानहरू थप चिन्तित बनेका छन् । उत्पादित स्याउलाई सहज रूपमा बजारसम्म पुर्‍याउने र भण्डारणको भरपर्दो व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

साताकाे चर्चित
सम्बन्धित