न्युयोर्क ।
नेपाल र श्रीलंकाले व्यापार, पर्यटन, शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धलगायत क्षेत्रमा आपसी सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विविध पक्षबारे छलफल भएको हो।
महासभाका क्रममा भएको साइडलाइन भेटमा दुवै पक्षले नेपाल–श्रीलंका सम्बन्धलाई अझ सुदृढ बनाउने उपायबारे विचार आदानप्रदान गरेका थिए। भेटमा विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू नियमित रूपमा आयोजना गर्नुपर्नेमा पनि जोड दिइएको थियो।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित समुदायप्रति श्रीलंकाले देखाएको सहानुभूति र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरे।
विपद्का बेला श्रीलंका सरकारले उपलब्ध गराएको आर्थिक तथा मानवीय सहयोगप्रति पनि मन्त्री खनालले श्रीलंका सरकार र त्यहाँका नागरिकप्रति आभार प्रकट गरेका थिए।
भेटवार्तामा नेपाल र श्रीलंकाबीच कायम मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई थप विस्तार गर्ने विषयमा दुवै मन्त्रीले धारणा राखेका थिए। विशेषगरी व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल र जनस्तरको सम्बन्धलाई प्राथमिकतामा राखेर सहकार्य बढाउने विषयमा छलफल भएको जनाइएको छ।
दुवै देशका विद्यमान संयन्त्रलाई प्रभावकारी रूपमा अघि बढाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत भेटमा व्यक्त गरिएको थियो।