बुटवल ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देही पुगेकी छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा आयोजना गरेको अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्न उनी रुपन्देही आएकी हुन् ।
प्रतियोगिता सोमबारदेखि सुरु भए पनि प्रतिकूल मौसमका कारण भण्डारी निर्धारित समयमा बुटवल आउन नसकेपछि उद्घाटन कार्यक्रम एक दिनपछि सारिएको हो । उनी सोमबार राति रुपन्देही आइपुगेकी थिइन् ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार भण्डारीले मंगलबार दिउँसो १ बजे प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटनअघि उनले एमाले रुपन्देहीको पार्टी कार्यालयमा नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको गैरेले जानकारी दिए ।
प्रतियोगिता उद्घाटन गरेपछि भण्डारी मंगलबार नै काठमाडौं फर्कने कार्यक्रम रहेको गैरेले बताए ।