काठमाडौं ।
नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्षमा चयन भएको छ।
कतारको दोहामा जारी एआईआईबीको ११औँ वार्षिक बैठकका क्रममा नेपाललाई आगामी कार्यकालका लागि उक्त जिम्मेवारी दिइएको हो। यससँगै आयरल्याण्ड पनि उपाध्यक्षमा चयन भएको छ।
एआईआईबीको वार्षिक बैठकमा नेपालका तर्फबाट अर्थमन्त्री तथा बैंकका गभर्नर डा. स्वर्णिम वाग्ले सहभागी छन्। बैंकका अनुसार ११औँ वार्षिक बैठकको मुख्य विषय ‘Tomorrow’s Infrastructure: Impact and Innovation’ रहेको छ।
उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेपछि अर्थमन्त्री वाग्लेले पूर्वाधार विकासमार्फत हुने पूँजी निर्माण विकासोन्मुख तथा कम विकसित मुलुकको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको धारणा राखेका छन्।
गभर्नर्स बिजनेस राउण्ड टेबललाई सम्बोधन गर्दै उनले सडक, ऊर्जा, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादन र आर्थिक गतिविधिका आधारभूत क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए।
वाग्लेले नेपालजस्ता विकासशील मुलुकको आवश्यकता र क्षमता सुहाउँदो ढंगले एआईआईबीको वित्तीय सहयोगलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने धारणा पनि राखेका छन्। उनका अनुसार पूर्वाधार क्षेत्रमा सार्वजनिक लगानीसँगै स्वदेशी तथा विदेशी निजी पूँजी आकर्षित गर्ने वातावरण निर्माण आवश्यक छ।
एआईआईबीले आफ्नो दोस्रो दशकमा दिगो पूर्वाधार, नवीकरणीय ऊर्जा, डिजिटल रूपान्तरण, क्षेत्रीय सम्पर्क सञ्जाल र निजी पूँजी परिचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ। बैंकका अनुसार हाल उसका १११ स्वीकृत सदस्य छन् र ४३ अर्थतन्त्रमा ४०० भन्दा बढी परियोजनाका लागि ७९ अर्ब अमेरिकी डलरभन्दा बढी वित्तीय स्वीकृति भइसकेको छ।