कोहलपुरमा एक वर्षपछि पुनः सञ्चालनमा आयो आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम
कोहलपुरमा एक वर्षपछि पुनः सञ्चालनमा आयो आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम
    • बेल संचार

    • १६ आश्विन २०८३, शुक्रबार

बाँके ।

कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा करिब एक वर्षदेखि रोकिएको आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रम पुनः सञ्चालनमा आएको छ ।

कोहलपुर नगरपालिका र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालबीच कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएपछि सेवा पुनः सुरु गरिएको हो । कार्यक्रम सञ्चालनमा आएपछि कोहलपुर तथा आसपासका आर्थिक रूपमा विपन्न परिवारलाई प्रसूति र नवजात शिशुको उपचारमा सहजता हुने नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख सङ्गीता सुवेदीका अनुसार आमा सुरक्षा कार्यक्रमसँगै नवजात शिशु सुरक्षा सेवा पनि समेटेर सञ्चालन गर्ने विषयमा सहमति भएपछि अस्पतालसँग सम्झौता गरिएको हो । नगरपालिकाले गत वर्षदेखि नै नवजात शिशु सुरक्षा कार्यक्रमलाई समेत समेट्न अस्पतालसँग आग्रह गर्दै आएको थियो ।

नवजात शिशु सुरक्षासम्बन्धी विषयमा सहमति हुन नसकेपछि गत वर्ष अस्पतालमा आमा सुरक्षा कार्यक्रमसमेत रोकिएको थियो । कार्यक्रम बन्द हुँदा स्थानीय क्षेत्रका गर्भवती महिला तथा नवजात शिशुको उपचारमा समस्या भएको नगरपालिकाको भनाइ छ ।

कार्यक्रम पुनः सञ्चालन भएपछि आर्थिक अभावका कारण गर्भवती तथा सुत्केरीले आवश्यक स्वास्थ्य सेवा पाउन नसक्ने अवस्था न्यूनीकरणमा सहयोग पुग्ने उपप्रमुख सुवेदीले बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले नेपाल सरकारको निर्धारित मापदण्डअनुसार नेपालगन्ज मेडिकल कलेजसँग सम्झौता गरेर कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार नवजात शिशु सुरक्षा सेवा पनि समेट्न गरिएको आग्रह स्वीकार नभएपछि विगत एक वर्षदेखि आमा सुरक्षा कार्यक्रम नै अवरुद्ध भएको थियो ।

नेपालगन्ज मेडिकल कलेजका निर्देशक प्रा. डा. रेशमबहादुर रानाले सम्झौता कोहलपुर नगरपालिकासँग भए पनि कार्यक्रमअन्तर्गत देशका विभिन्न स्थानबाट आउने गर्भवती तथा नवजात शिशुले सेवा लिन सक्ने बताए । नवजात शिशुलाई आवश्यक उपचार सेवा दिन सक्ने पूर्वाधार र व्यवस्थापन अस्पतालमा भएकाले कार्यक्रमअन्तर्गत शिशु उपचार सेवासमेत थप गरिएको उनले जानकारी दिए ।

कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतामा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरी र नेपालगन्ज मेडिकल कलेजका निर्देशक प्रा. डा. रानाले हस्ताक्षर गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित