काठमाडौँ ।
स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन अब १६ वर्ष उमेर पूरा गरेका नागरिकले राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले आगामी पुस १ गतेदेखि नयाँ आबद्धता, नवीकरण र बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो।
बोर्डका अनुसार स्वास्थ्य बीमामा आबद्ध सामान्य तथा लक्षित वर्गका सबै परिवारले HIB e-Portal मार्फत आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्नेछ। परिचयपत्रलाई बीमा प्रणालीसँग जोड्दा बीमितको पहिचान यकिन गर्न, दोहोरो आबद्धता रोक्न, केवाईसी विवरण अद्यावधिक गर्न तथा उपचारसम्बन्धी दाबी व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ।
यसैगरी, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद र भुक्तानी प्रक्रियालाई थप व्यवस्थित तथा लागत प्रभावकारी बनाउने उद्देश्यले रणनीतिक खरिदसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय पनि भएको छ। उक्त कार्यदलले ६० दिनभित्र अध्ययन प्रतिवेदन बोर्डमा बुझाउनेछ।
बोर्डले इलेक्ट्रोनिक मेडिकल रेकर्ड अर्थात् ईएमआर प्रणालीबाट प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबीसम्बन्धी विवरणलाई तोकिएको मापदण्डका आधारमा मान्यता दिने निर्णयसमेत गरेको छ।
पहिलो चरणमा २ हजार १८९ वटा Customized ICD-11 Code लाई बीमा व्यवस्थापन सूचना प्रणाली अर्थात् IMIS मा प्रयोगमा ल्याइने बोर्ड सचिवालयले जनाएको छ।
