पुनर्निर्माणपछि घटस्थापनादेखि खुल्दै तालबाराही मन्दिर
पुनर्निर्माणपछि घटस्थापनादेखि खुल्दै तालबाराही मन्दिर
    • बेल संचार

    • २० आश्विन २०८३, मंगलवार

कास्की ।

पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही भगवती मन्दिर पुनर्निर्माणपछि भक्तजनका लागि पुनः खुला हुने भएको छ। मन्दिरको पुनर्निर्माण सम्पन्न भएसँगै आगामी असोज २५ गते घटस्थापनादेखि नियमित पूजाआजा र दर्शनको व्यवस्था मिलाइने भएको हो।

फेवातालको बीचमा रहेको सानो टापुमा अवस्थित तालबाराही मन्दिर पुग्न बाराहीघाटबाट डुङ्गा चढ्नुपर्छ। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण यो क्षेत्र पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ।

मन्दिरको पुनर्निर्माण भइरहेका कारण यस अवधिमा नियमित पूजाआजा रोकिएको थियो। भक्तजनको धार्मिक आस्था निरन्तर राख्न मन्दिर नजिकै रहेको हवनकुण्ड क्षेत्रमा चाँदीको मूर्तिमा प्राण प्रतिष्ठा गरी पूजाआजा सञ्चालन गरिएको थियो। पुनर्निर्माणपछि अब भक्तजनले मूल मन्दिरमै पुगेर पूजा तथा दर्शन गर्न पाउनेछन्।

विसं २०७२ को भूकम्पका कारण तालबाराही मन्दिर करिब तीन इन्च दक्षिणतर्फ ढल्किएको थियो। मन्दिरको केही भाग दबिएपछि संरचनामा जोखिम देखिएको थियो। पुरातत्व विभागको निर्देशन तथा समन्वयमा विसं २०८० कात्तिकदेखि मन्दिर पुनर्निर्माणको काम अघि बढाइएको थियो।

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष तथा पुजारी महेश्वर पहारीका अनुसार पुनर्निर्माणको मुख्य काम पूरा भइसकेको छ। अब सामान्य रङरोगन तथा सजावटका केही काम मात्र बाँकी छन्।

उनका अनुसार मन्दिरको मौलिक स्वरुप जोगाउँदै परम्परागत नेपाली वास्तुकलालाई प्राथमिकता दिएर पुनर्निर्माण गरिएको हो। काठ, इँटा लगायतका परम्परागत सामग्री प्रयोग गरिएको छ भने प्यागोडा शैलीलाई यथावत् राखिएको छ।

मन्दिर निर्माणका लागि भक्तपुर र ललितपुरबाट दक्ष कालीगढसमेत ल्याइएको थियो। प्यागोडा शैलीको संरचनामा तहगत छाना, कलात्मक काठका संरचना, परम्परागत झ्याल–ढोका तथा धार्मिक महत्व बोकेका आकृतिहरूलाई समेटिएको छ।

पुजारी पहारीका अनुसार घटस्थापनाको दिन विशेष विधिअनुसार पूजा गरी देवीको शक्ति पुरानो शिलामा पुनःस्थापना गरिनेछ। त्यसपछि भक्तजनले पहिलेझैँ मूल शिलाको दर्शन र पूजाआजा गर्न सक्नेछन्।

मन्दिर पुनर्निर्माणमा करिब १ करोड ५० लाख रुपैयाँ खर्च भएको व्यवस्थापन समितिले जनाएको छ। त्यसमध्ये पुरातत्व विभागबाट ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो भने बाँकी रकम भक्तजन तथा शुभेच्छुकबाट प्राप्त सहयोगमार्फत व्यवस्थापन गरिएको बताइएको छ।

फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिरमा धार्मिक महत्वसँगै प्राकृतिक आकर्षण पनि जोडिएको छ। मन्दिरसम्मको डुङ्गा यात्राका क्रममा फेवातालको पानी, आसपासको हरियाली र हिमाली दृश्यको आनन्द लिन सकिने भएकाले यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण रहँदै आएको छ।

मन्दिरमा पुनः नियमित पूजा सुरु भएपछि भक्तजन तथा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ।

फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले मन्दिर पुनर्निर्माणका क्रममा नियमित पूजाआजा बन्द हुँदा डुङ्गा चढ्ने यात्रुको संख्यामा समेत केही प्रभाव परेको बताए।

उनका अनुसार मन्दिर सञ्चालनमा आएपछि धार्मिक पर्यटकसँगै अन्य पर्यटकको आगमन पनि बढ्ने र त्यसको सकारात्मक प्रभाव डुङ्गा व्यवसायमा पर्ने अपेक्षा गरिएको छ।

चार सय वर्षभन्दा पुरानो धार्मिक इतिहास

तालबाराही मन्दिरको इतिहास निकै पुरानो रहेको स्थानीय धार्मिक मान्यता छ। कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले फेवातालको बीचमा रहेको ढिस्कोमा खरको झुप्रो बनाएर देवीको पूजा सुरु गरेको जनश्रुति छ। स्थानीय मान्यताअनुसार मन्दिरको अस्तित्व विसं १६६९ देखि रहँदै आएको छ।

पहिले माटोको ढिस्कोमा रहेको शिलालाई देवीका रूपमा पूज्ने गरिएको र पछि त्यही स्थानमा मन्दिर निर्माण गरिएको बताइन्छ। सामान्य झुप्रोको स्वरुपमा रहेको मन्दिरलाई तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा हालको स्वरुपमा निर्माण गराएको इतिहास पाइन्छ।

त्यसयता तालबाराही मन्दिर पोखराको धार्मिक तथा पर्यटकीय पहिचानको महत्वपूर्ण हिस्सा बन्दै आएको छ।

फेवातालको किनारबाट करिब पाँच मिनेटको डुङ्गा यात्रापछि मन्दिर पुग्न सकिन्छ। मन्दिर रहेको क्षेत्र करिब तीन रोपनी आठ आना दुई दाममा फैलिएको छ। पुनर्निर्माणपछि मन्दिर पुनः सञ्चालनमा आएसँगै धार्मिक गतिविधि र पर्यटकीय चहलपहल दुवै बढ्ने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित