मध्यपहाडी लोकमार्गको कास्की खण्डमा तीन पक्की पुल सञ्चालनमा
मध्यपहाडी लोकमार्गको कास्की खण्डमा तीन पक्की पुल सञ्चालनमा
    • बेल संचार

    • २१ आश्विन २०८३, बुधबार

कास्की ।

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्कीमा तीनवटा नयाँ पक्की मोटरेबल पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्।

सडक फराकिलो भए पनि लामो समयसम्म साँघुरा पुलका कारण सवारी आवागमनमा देखिएको समस्या नयाँ पुल निर्माणसँगै हटेको छ। पुल सञ्चालनमा आएपछि यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज भएको आयोजना कार्यालयले जनाएको छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी एवं इन्जिनियर उज्ज्वल शर्माका अनुसार पोखरा महानगरपालिका–१ स्थित याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकाको घट्टेखोलानजिक पानीविहाडमा एउटा पुल निर्माण गरिएको हो।

याम्दी खोलामा रहेको पुरानो पुलको दुवैतर्फ एक–एकवटा नयाँ पुल थपिएका छन्। दुवै पुलको लम्बाइ ५२ मिटर रहेको छ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकातर्फ निर्माण गरिएको पानीविहाड पुल १२४ मिटर लामो रहेको इन्जिनियर शर्माले जानकारी दिए।

मध्यपहाडी लोकमार्गअन्तर्गत याम्दी पुलदेखि नयाँपुलसम्मको सडक यसअघि नै विस्तार तथा स्तरोन्नति भइसकेको थियो। सडकको चौडाइ बढे पनि पुल साँघुरो हुँदा सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको थियो।

विशेषगरी विपरीत दिशाबाट आएका ठूला सवारीसाधन एकैपटक पार हुन नसक्दा जाम हुने र दुर्घटनाको जोखिमसमेत रहने गरेको थियो। नयाँ पुल सञ्चालनमा आएपछि सडकको चौडाइअनुसारको संरचना बनेकाले समस्या समाधान भएको कार्यालयले जनाएको छ।

“सडकको स्वरूपअनुसार पुल निर्माण सम्पन्न भएकाले दुर्घटनाको जोखिम पनि कम भएको छ। तीनवटै पुलको निर्माण पूरा भइसकेको छ,” सूचना अधिकारी शर्माले भने, “यसले मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई थप सहज बनाएको छ।”

तीनवटै पुल निर्माणका लागि एउटै ठेक्का प्रक्रियामार्फत काम अघि बढाइएको थियो। कार्यालय र गीता कन्स्ट्रक्सन, स्याङ्जाबीच विसं २०७९ साउन २२ गते २१ करोड ५९ लाख ७८ हजार रुपैयाँमा निर्माण सम्झौता भएको थियो।

सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गरी तीनवटै पुल यातायातका लागि सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।

मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी भूभागका विभिन्न जिल्लालाई सडक सञ्जालमा जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फको यातायात थप सहज हुने अपेक्षा गरिएको छ।

यस मार्गबाट दैनिक सयौँ सवारीसाधन आवतजावत गर्ने गरेका छन्। पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङसँगै पूर्वी रुकुमतर्फ जाने मालवाहक ट्रक, सार्वजनिक यातायात तथा निजी सवारीका लागि पनि मध्यपहाडी लोकमार्ग महत्वपूर्ण मार्गका रूपमा रहेको छ।

पुल निर्माणपछि सडकको क्षमता र संरचनाबीचको असमानता हटेकाले यात्राको समय घट्नुका साथै सवारी आवागमन थप सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित