विश्वविद्यालयको परीक्षा नतिजा एक महिनाभित्र सार्वजनिक गर्न मन्त्री पोखरेलको निर्देशन
विश्वविद्यालयको परीक्षा नतिजा एक महिनाभित्र सार्वजनिक गर्न मन्त्री पोखरेलको निर्देशन
    • बेल संचार

    • २२ आश्विन २०८३, बिहीबार

काठमाडौं ।

शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयका परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित सभामा बोल्दै मन्त्री पोखरेलले परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा हुने ढिलाइबारे मन्त्रालयमा गुनासो आउने गरेको बताए ।

उनले परीक्षा र नतिजा प्रकाशनलाई समयमै सम्पन्न गर्न शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । नतिजा एक महिनाभित्र सार्वजनिक गर्न कुलपति एवं प्रधानमन्त्रीबाट समेत निर्देशन रहेको उनको भनाइ थियो ।

मन्त्री पोखरेलले विश्वविद्यालयको कामलाई थप प्रभावकारी बनाउन अधिकार विकेन्द्रीकरणमा जोड दिए । उनका अनुसार विश्वविद्यालयका निर्णय र सेवा प्रवाहलाई विकेन्द्रित गर्न सके शैक्षिक प्रशासन अझ प्रभावकारी बन्न सक्छ ।

उनले त्रिविको दीक्षान्त समारोह अन्य प्रदेशमा समेत आयोजना गर्नुपर्ने आवश्यकता औँल्याए ।

सरकार शिक्षा क्षेत्रको सुधारका लागि अघि बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई ज्ञान, अनुसन्धान र नीतिगत अध्ययनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । शिक्षा ऐन निर्माण, पाठ्यक्रम सुधार र नयाँ शिक्षा नीति तयार गर्ने काम अघि बढिरहेको जानकारी दिँदै उनले यी प्रक्रियामा विश्वविद्यालयको भूमिका अझ महत्वपूर्ण हुनुपर्ने बताए ।

मन्त्री पोखरेलले त्रिविका आंगिक क्याम्पसको पूर्वाधार विकास, विदेशी विद्यार्थी आकर्षित गर्ने कार्यक्रम तथा विश्वविद्यालयमा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिए । उनले डिजिटल प्रणालीको विस्तार, जीवनोपयोगी शिक्षा र अनुसन्धानमुखी शैक्षिक वातावरण निर्माणलाई प्राथमिकता दिन आग्रह गरे ।

यसपटक त्रिविको सभा कुलपति एवं प्रधानमन्त्रीको अनुपस्थितिमा सहकुलपति पोखरेलको अध्यक्षतामा सञ्चालन भएको हो । विगतमा त्रिविको सभा कुलपति एवं प्रधानमन्त्रीले अध्यक्षता गर्ने गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित