स्पेसल ओलम्पिक्स नेपालको ३४ औ वार्षिक साधारण सभा सम्पन्न
स्पेसल ओलम्पिक्स नेपालको ३४ औ वार्षिक साधारण सभा सम्पन्न
    •  शर्मिला विश्वकर्मा

    • २३ आश्विन २०८३, शुक्रबार

काठमाडौँ

स्पेसल ओलम्पिक्स नेपालको ३४ औ वार्षिक साधारण सभा यही असोज २२ गते काठमाडौँमा सम्पन्न भएको छ । यस साधारण सभाको अवसरमा यसै संस्थाका उपाध्यक्ष डा.लाक्पा शेर्पाले सबैलाई स्वागत गर्दै बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको खेलकुदको विकासका लागि यस स्पेसल ओलम्पिक्स नेपालले महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आगामी दिनमा उनीहरूको खेलकुदका लागि विभिन्न प्रतियोगिताहरू पनि सञ्चालन गर्न सकिने बताउँदै उनीहरूको खेल विकासको लागि सरोकारवाला निकाय तथा अभिभावकहरू सबैले हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । यस संस्थाका अध्यक्ष शिला थापाले स्पेसल ओलम्पिक्सका खेलकुदहरूमा उपाधि नजिते ता पनि त्यहाँ सहभागी अवसर मिल्ने, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदका क्षेत्रमा काम गर्ने स्पेसल ओलम्पिक्स नेपाललाई सबैको साथ सहयोगको आवश्यक रहेको बताउनु भयो ।

साथै उहाँले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमा सहभागी गराएर राष्ट्रको गौरव बढाउने अवसर पनि भएको भन्दै मधेस प्रदेशबाट पनि खेलाडीहरू छनौट गर्ने र यस वर्ष ११ सय खेलाडीहरू उत्पादन गरी अन्तर्राष्ट्रिय स्पेसल ओलम्पिक्स खेलकुदमा सहभागी गराउनका लागि छनौट गर्ने यसका लागि अभिभावकलाई नै कोच ट्रेनिङ दिने कुरामा जोड दिनु भयो । यस साधारण सभामा संस्थाका महासचिव सीमा राईले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । यसै क्रममा उहाँले यस संस्थाले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई खेलकुदको माध्यमबाट मूलधारमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरूका लागि खेलकुद, शिक्षा र स्वास्थ्य कार्यक्रम तथा समावेशी अभियान सञ्चालन गर्दै आएको बताउनु भयो । साथै यस संस्थाले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरू तथा युवाहरूलाई खेलकुदको माध्यम मार्फत समाजको मूलधारमा ल्याउने, उनीहरूको प्रतिभा पहिचान गरी उनीहरूलाई सम्मान पूर्वक बाच्ने वातावरण निर्माण गर्ने कार्यमा निरन्तर लागि परेको बताउनु भयो ।

त्यसै गरी उक्त कार्यक्रममा कोषाध्यक्ष निकिता अग्रवालले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसै क्रममा उहाँले स्थानीय निकायहरूसँग सहकार्य गरेर बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरूका लागि २ वटा खेल प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो । उक्त साधारण सभामा स्पेसल ओलम्पिक्स नेपालका राष्ट्रिय निर्देशक निरु कार्कीले यस संस्थाको (Website) वेबसाइट सार्वजनिक गर्दै बौद्धिक अपाङ्गता भएका खेलाडीहरूको खेलकुदको विकासको लागि अभिभावक तथा परिवारको साथ सहयोगको आवश्यक रहेको बताउनु भयो ।

साताकाे चर्चित
सम्बन्धित