झापा ।
झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्ती नेपाल प्रवेश गर्न थालेपछि सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ।
नेपाल–भारत सीमा पार गरेर नेपालतर्फ आउने हात्तीले स्थानीयका घर भत्काउने र पाक्न लागेको धानबाली नष्ट गर्ने क्रम बढेपछि सम्भावित क्षति रोक्न बुधबारदेखि विशेष सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
हात्तीलाई नेपाल प्रवेश गर्नबाट रोक्ने र पुनः भारततर्फ फर्काउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी बाहुनडाँगी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी, र्यापिड रेस्पोन्स टोली, विभिन्न सङ्घसंस्था तथा स्थानीय किसानलाई परिचालन गरिएको छ।
हात्तीको गतिविधि निगरानी गर्न र प्रवेश रोक्न सुरक्षाकर्मी तथा स्थानीयले विभिन्न उपकरण र सवारीसाधन प्रयोग गरिरहेका छन्। यसका लागि १० वटाभन्दा बढी साना माइकसहितका साइरन, सशस्त्र प्रहरीका दुई ठूला साइरन, वन कार्यालय र सशस्त्र प्रहरीका एक–एकवटा साइरन जडित सवारीसाधन तथा नेपाल प्रहरीको एउटा ठूलो साइरन परिचालन गरिएको छ।
त्यस्तै, निगरानी र गस्तीलाई थप प्रभावकारी बनाउन ९० वटाभन्दा बढी ठूला लाइट, तीनवटा ट्याक्टर र १० वटाभन्दा बढी मोटरसाइकल प्रयोगमा ल्याइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
हात्तीको आवतजावतबाट घर तथा बालीनालीमा क्षति पुग्न सक्ने जोखिम रहेकाले स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दालाई सचेत रहन र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।