कालीगण्डकी करिडोरमा सुक्खा पहिरो खस्दा सडक पूर्ण अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र
कालीगण्डकी करिडोरमा सुक्खा पहिरो खस्दा सडक पूर्ण अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र
    • बेल संचार

    • २७ कार्तिक २०८३, बिहीबार

गुल्मी ।

कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

गएराति पहिरो खसेपछि सडकमा यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पहिरो हटाएर सडक खुलाउने प्रयासका लागि प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ।

स्थानीय कालीगण्डकी गाउँपालिका र प्रहरीबीच समन्वय गरी सडकमा थुप्रिएको पहिरो पन्छाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्।

तिहारको समयमा मुख्य सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी र पोखरातर्फ जाने तथा ती क्षेत्रबाट गुल्मी आउने यात्रु र सवारीसाधन बाटोमै रोकिएका छन्।

कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि यस क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएको छ। जिल्लाको व्यस्त सडकका रूपमा रहेको करिडोर अवरुद्ध हुँदा यात्रु तथा सर्वसाधारणले आवतजावतमा सास्ती खेप्नुपरेको छ।

पहिरो हटाउने काम सम्पन्न नभएसम्म सडकमा यातायात सञ्चालन हुन नसक्ने भएकाले यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित