करिब १० करोड खर्चिएको कान्तिताल बेहाल, संरक्षण नहुँदा झाडीले ढाकियो
करिब १० करोड खर्चिएको कान्तिताल बेहाल, संरक्षण नहुँदा झाडीले ढाकियो
    • बेल संचार

    • २७ कार्तिक २०८३, बिहीबार

बाँके ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्तिताल उचित संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ। कुनै समय नेपालगञ्जको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको ताल अहिले झाडी र बुट्यानले ढाकिँदै गएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले विसं २०७५ मा कान्तिताललाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यसहित योजना अघि सारेको थियो। त्यसक्रममा स्थानीय पूर्वाधार निर्माण तथा सौन्दर्यीकरणका लागि करिब १० करोड रुपैयाँ खर्च गरिए पनि अहिले तालको अवस्था भने दयनीय बनेको छ।

ताल परिसरमा सौन्दर्यका लागि निर्माण गरिएका रेलिङ भत्किएका छन् भने वरपरको क्षेत्र झाडीले भरिएको छ। नेपालगञ्ज–२२ पुरैनीका स्थानीय अगुवा चेतबहादुर थापाका अनुसार संरक्षणको अभावमा तालले आफ्नो प्राकृतिक स्वरूपसमेत गुमाउँदै गएको छ।

थापाले कान्तिताललाई पर्यटकीय पूर्वाधारका रूपमा मात्र नभई जैविक विविधताको महत्त्वपूर्ण क्षेत्रका रूपमा पनि संरक्षण गर्नुपर्ने बताए। उनका अनुसार ताल विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानसमेत हो। वातावरण र चरा संरक्षणमा सक्रिय अभियन्ताहरूले तालको प्राकृतिक अवस्था जोगाउन र पुरानै स्वरूपमा फर्काउन आवाज उठाउँदै आए पनि सम्बन्धित निकायबाट ठोस पहल हुन सकेको छैन।

ताल क्षेत्रमा झाडी बढ्दै जाँदा सुरक्षा चुनौतीसमेत थपिएको स्थानीयको गुनासो छ। विशेषगरी साँझ र रातिको समयमा लागुऔषध प्रयोगकर्ताको गतिविधि बढ्ने गरेको भन्दै आसपासका बासिन्दाले असुरक्षित महसुस गर्न थालेका छन्। थापाका अनुसार ताल क्षेत्रमा हुने शङ्कास्पद गतिविधिले स्थानीयलाई चिन्तित बनाएको छ।

ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने गरी ठेक्का लिएका फनबहादुर गुरुङले परिसरमा निर्माण गरिएका रेलिङ तथा अन्य संरचनामा लागुऔषध प्रयोगकर्ताबाट तोडफोड भएको हुन सक्ने बताए।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा सञ्चालन गरिएका योजनाले अपेक्षित उपलब्धि दिन नसकेको स्वीकार गरेका छन्। उनले सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरी कान्तितालको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि नयाँ योजना तयार गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिए।

नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले कान्तिताललाई नेपालगञ्जको पर्यटन र आर्थिक विकाससँग जोड्ने सम्भावना रहेको उल्लेख गर्दै यसको तत्काल संरक्षणमा ध्यान दिनुपर्ने बताए।

पर्यटकीय आकर्षण र प्राकृतिक सम्पदाका रूपमा विकास गर्ने लक्ष्यसहित ठूलो रकम खर्चिएको कान्तिताल अहिले उपेक्षामा परेको छ। स्थानीयले तालको संरक्षण, सरसफाइ, पूर्वाधार मर्मत र सुरक्षा व्यवस्थापनमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित