दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृत्रिम ड्यामले स्थानीय किसानलाई सिँचाइमा राहत दिएको छ। विगतमा आकाशे पानीको भरमा खेती गर्नुपर्ने सुक्खा जमिनमा अहिले सिँचाइको सुविधा विस्तार हुन थालेपछि कृषि उत्पादन बढ्ने आशा पलाएको छ।
बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले निर्माण गरेको ड्यामबाट हाल हेमन्तपुर क्षेत्रमा सिँचाइ भइरहेको छ। धनखन्ने, सानोदमार र दौडारे क्षेत्रका करिब २०० बिघा जमिनमा समेत सिँचाइ पुर्याउने काम अघि बढिरहेको स्थानीय ड्याम संरक्षण समितिका अध्यक्ष गोविन्द नेपालीले जानकारी दिए।
उनका अनुसार ड्याम निर्माणले खेतमा पानी पुर्याउन मात्र सहयोग गरेको छैन, आसपासका कुवा तथा इनारमा समेत पानीको सतह बढाएको छ। यसले स्थानीय बासिन्दालाई पानीको उपलब्धतामा सहजता भएको छ।
तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीका अनुसार पहिले चैत महिनामै सुक्ने गरेका कतिपय इनार अहिले तालतलैयाबाट जमिनमुनि पानी पुनर्भरण हुन थालेपछि वर्षभरि पानी रहने अवस्थामा पुगेका छन्। सिँचाइ अभावमा बाँझो वा सुक्खा रहने जमिनमा समेत हरियाली बढ्न थालेको उनले बताए।
ड्यामको प्रभावले यस क्षेत्रको कृषि सम्भावना बढेको उल्लेख गर्दै वडाध्यक्ष वलीले भू–वर्गीकरणमा पनि जमिनलाई आवासीय वा औद्योगिकभन्दा कृषि क्षेत्रका रूपमा अघि बढाइएको जानकारी दिए। उनका अनुसार जलस्रोत संरक्षण र खेतीयोग्य जमिनको उपयोगमा कृत्रिम ड्याम तथा तालतलैयाले महत्वपूर्ण भूमिका खेलेका छन्।
ड्याम क्षेत्रमा डुङ्गासमेत सञ्चालनमा रहेको र त्यसबाट आम्दानी हुने गरेको स्थानीयले बताएका छन्। सिँचाइ, पानीको स्रोत संरक्षण र स्थानीय आम्दानीसँग जोडिएको यस संरचनाले क्षेत्रको कृषि तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।