थ्रेसर मेसिनबाट गाउँमै स्वरोजगार बने अमजत, धानको सिजनमा डेढ लाखसम्म आम्दानी
थ्रेसर मेसिनबाट गाउँमै स्वरोजगार बने अमजत, धानको सिजनमा डेढ लाखसम्म आम्दानी
    • बेल संचार

    • ७ कार्तिक २०८३, शुक्रबार

बाँके ।

वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढिरहेका बेला बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेखले कृषि क्षेत्रमा सम्भावना खोज्दै गाउँमै राम्रो आम्दानीको बाटो बनाएका छन्। उनले विगत सात वर्षदेखि थ्रेसर मेसिन सञ्चालन गरेर किसानलाई सेवा दिँदै स्वरोजगार बनेका हुन्।

शेखले ३ लाख ५० हजार रुपैयाँ लगानीमा थ्रेसर मेसिन खरिद गरी व्यवसाय सुरु गरेका थिए। उनका अनुसार धान भित्र्याउने मुख्य सिजनमा खर्च कटाएर करिब १ लाख ५० हजार रुपैयाँसम्म खुद मुनाफा हुने गरेको छ।

उनले थ्रेसर चलाएबापत प्रतिघण्टा २ हजार ५०० रुपैयाँ वा एक क्विन्टल धान झारेबापत १२ किलो धान सेवा शुल्कका रूपमा लिने गरेका छन्। विशेषगरी धेरै क्षेत्रफलमा खेती गर्ने र घरमा कामदारको अभाव भएका किसानले थ्रेसरको सेवा बढी लिने गरेको उनले बताए।

“थ्रेसरको प्रयोगले एक घण्टामा १० कट्ठासम्मको धान झार्न सकिन्छ,” शेखले भने, “यसले किसानको समय र श्रम दुवै बचत गर्छ।”

परम्परागत रूपमा धानको दाइँ गर्ने, परालबाट धान छुट्याउने र अन्न सफा गर्ने काममा धेरै समय र जनशक्ति आवश्यक पर्थ्यो। थ्रेसर मेसिनले यी काम छिटो सम्पन्न गर्न सहयोग पुर्‍याएको छ। त्यसैले गाउँका किसानले पनि आधुनिक कृषि उपकरणको प्रयोग बढाउँदै लगेका छन्।

धान भित्र्याउने समयमा शेखलाई कामको चाप बढी हुने गरेको छ। अहिले किसानको मागअनुसार बिहान ५ बजेदेखि राति १२ बजेसम्म खेतमै पुगेर सेवा दिने गरेको उनले बताए।

पहिले गाउँका किसानले काटेको धान एउटै ठाउँमा जम्मा गरी पालैपालो थ्रेसर चलाउने गर्थे। अहिले भने प्रत्येक किसानको खेतमै मेसिन पुर्‍याउनुपर्ने भएकाले इन्धन र समयको खर्च बढेको शेखको अनुभव छ।

उनले सुरुमा आफ्नै गाउँमा सेवा दिँदै आएका थिए। पछिल्लो समय अन्य गाउँका किसानले समेत थ्रेसर माग्न थालेपछि यो व्यवसायमा प्रतिस्पर्धा पनि बढेको छ।

नेपालगञ्ज–१९ स्थित सुईया गाउँका किसान ध्रुवकुमार थापा क्षेत्री पनि आधुनिक कृषि उपकरणको प्रयोगबाट खेतीपाती सहज भएको बताउँछन्। उनी विगत एक दशकदेखि खेत जोत्न ट्र्याक्टर र धान तथा गहुँ भित्र्याउन थ्रेसर मेसिन प्रयोग गर्दै आएका छन्।

पहिले खेताला लगाएर वा अर्मपर्मको माध्यमबाट खेती गर्ने गरेका थापाका अनुसार अहिले गाउँमा कृषि मजदुर पाउन कठिन हुँदै गएको छ। मजदुर पाइए पनि दैनिक ६०० देखि एक हजार रुपैयाँसम्म ज्याला दिनुपर्ने अवस्था रहेको उनले बताए।

“खेताला लगाउँदा समय धेरै लाग्छ। थ्रेसर प्रयोग गरेपछि धान छिटो र सहज रूपमा भित्र्याउन सकिन्छ,” उनले भने, “आवश्यक खर्च गर्न सके खेती लगाउनेदेखि उत्पादन भित्र्याउनेसम्मका काम सजिला भएका छन्।”

बाँकेका गाउँमा ट्र्याक्टर र थ्रेसरजस्ता आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै जाँदा खेतीपातीमा लाग्ने श्रम र समय घटाउन सहयोग पुगेको छ। अमजत शेखजस्ता स्थानीय युवाले कृषि सेवामार्फत गाउँमै आम्दानीको अवसर सिर्जना गर्नुले कृषि क्षेत्रलाई स्वरोजगारको माध्यम बनाउन सकिने सम्भावनासमेत देखाएको छ।

साताकाे चर्चित
सम्बन्धित