रासायनिक मलको अभावमा स्याङ्जाका किसान गड्यौले मलतर्फ आकर्षित, वार्षिक ७५ हजार किलोसम्म उत्पादन
रासायनिक मलको अभावमा स्याङ्जाका किसान गड्यौले मलतर्फ आकर्षित, वार्षिक ७५ हजार किलोसम्म उत्पादन
    • बेल संचार

    • ७ कार्तिक २०८३, शुक्रबार

स्याङ्जा।

खेतीपातीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका स्याङ्जाका किसान पछिल्लो समय गड्यौले मलको प्रयोगतर्फ आकर्षित हुन थालेका छन्। माटोको उर्वराशक्ति बढाउन, बालीको उत्पादन सुधार गर्न र रासायनिक मलमाथिको निर्भरता घटाउन किसानले जैविक मलको प्रयोग बढाउँदै लगेका हुन्।

गड्यौले मल गड्यौलाको सहायताले कुहिने जैविक पदार्थबाट तयार गरिने मल हो। गाईभैँसीको गोबर, तरकारीका बोक्रा, पात, केराको थामलगायत जैविक फोहोरलाई गड्यौलाको आहारका रूपमा प्रयोग गरी यस्तो मल उत्पादन गरिन्छ। यसले माटोमा पोषक तत्त्व थप्नुका साथै चिस्यान कायम राख्न र माटोको गुणस्तर सुधार गर्न सहयोग पुर्‍याउँछ।

स्याङ्जाको वालिङमा गड्यौले मलको व्यावसायिक उत्पादन सुरु भएपछि किसानलाई मलको वैकल्पिक स्रोत उपलब्ध भएको छ। वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादन र बजारीकरणलाई प्राथमिकता दिएसँगै यसप्रति किसानको चासो बढेको हो।

२०७७ सालमा स्थापना भएको सहकारीले २०७९ सालदेखि आफ्ना सेयर सदस्य तथा अगुवा किसानलाई गड्यौला पालनसम्बन्धी तालिम दिन थालेको थियो। सहकारीका अध्यक्ष यामबहादुर गुरुङका अनुसार सुरुमा २६० जना किसानलाई तालिम दिएर गड्यौलाको बीउ र पालनका लागि आवश्यक संरचना उपलब्ध गराइएको थियो।

सहकारीले वालिङ–८ खेलमैदान नजिकै तीन रोपनी जग्गा पाँच वर्षका लागि भाडामा लिएर गड्यौले मल उत्पादन गर्दै आएको छ। त्यहाँ २७ वटा ठूला र १८ वटा साना गरी ४५ वटा पिट निर्माण गरिएका छन्।

सहकारीबाट मासिक करिब ६ हजार किलो तथा वार्षिक ६५ हजारदेखि ७५ हजार किलोसम्म गड्यौले मल उत्पादन हुने गरेको छ। उत्पादित मल सेयर सदस्यलाई प्रतिकिलो ३० रुपैयाँ र अन्य उपभोक्तालाई ३५ रुपैयाँमा बिक्री गरिँदै आएको अध्यक्ष गुरुङले जानकारी दिए।

उनका अनुसार सुरुका दिनमा किसानलाई गड्यौले मलको महत्त्व बुझाउन कठिन भए पनि अहिले माग बढ्दै गएको छ। सहकारीले गड्यौलाको बीउ र मल बिक्री गर्नुका साथै सदस्य किसानले उत्पादन गरेको मल बजारसम्म पुर्‍याउन पनि सहयोग गर्दै आएको छ।

किसानले आफ्नो खेतबारीमा प्रयोग गरेर बाँकी रहेको मल बिक्री गर्न सक्ने भएकाले यसबाट खेतीको लागत व्यवस्थापनसँगै अतिरिक्त आम्दानीको अवसरसमेत सिर्जना भएको छ।

गड्यौले मलको प्रयोगबाट फाइदा भएको अनुभव सुनाउने किसानमध्ये पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ कुश्माचोकका हृदयश बर्मा पनि एक हुन्। वालिङमा गड्यौला पालनको अभ्यास अवलोकन गरेपछि आफूले पनि यसको उत्पादन सुरु गरेको उनले बताए।

करिब १२ कट्ठा जग्गामा व्यावसायिक काँक्राखेती गर्दै आएका बर्माले गड्यौले मल प्रयोग गरेपछि उत्पादन दोब्बर भएको अनुभव सुनाए। उनका अनुसार रासायनिक मल प्रयोग गर्दा अपेक्षित उत्पादन नपाएपछि वैकल्पिक उपाय खोज्ने क्रममा गड्यौले मलतर्फ आकर्षित भएका हुन्।

अहिले आफ्नै खेतीका लागि आवश्यक मल उत्पादन गरिरहेका बर्माले आगामी दिनमा उत्पादन बढाएर अतिरिक्त मल बिक्री गर्ने योजना बनाएका छन्। गाउँघरमा पशुपालन घट्दै जाँदा गोठे मलको उपलब्धता पनि कम हुँदै गएकाले गड्यौला पालन उपयोगी विकल्प बनेको उनको भनाइ छ।

वालिङ नगरपालिका–५ पित्लेकका किसानले पनि तरकारी खेतीमा प्रयोग गर्न गड्यौले मल उत्पादन गर्दै आएका छन्। जनकल्याण कृषि सहकारीमा आबद्ध आठदेखि १० जना किसान गड्यौला पालनमा संलग्न रहेको सहकारीका व्यवस्थापक तथा अगुवा किसान हुमनाथ लामिछानेले बताए।

उनका अनुसार किसानले उत्पादन गरेको मल आफ्नै खेतबारीमा प्रयोग गर्ने गरेका छन् भने बढी भएको मल वालिङ प्रोडक्ट होल्डिङ सहकारीलाई प्रतिकिलो ३० रुपैयाँमा बिक्री गर्ने गरेका छन्।

लामिछानेले तीनवटा पिटबाट वार्षिक पाँच हजार किलोभन्दा बढी मल उत्पादन गर्दै आएका छन्। मलसँगै गड्यौलाको बीउ बिक्रीबाट पनि आम्दानी हुने गरेको उनले बताए। गड्यौलाको बीउ प्रतिकिलो एक हजार ७०० रुपैयाँमा बिक्री हुने गरेको छ।

वालिङ–८ का व्यावसायिक किसान फालचन्द्र कोइरालाले पनि बजारबाट गड्यौले मल किनेर प्रयोग गर्दै आएका थिए। मल प्रयोगपछि उत्पादनमा सुधार भएको अनुभव गरेपछि उनले आफैँ उत्पादन गर्ने उद्देश्यले गड्यौलाको बीउ खरिद गरेर पालन सुरु गरेका हुन्।

कृषि विकास कार्यालय स्याङ्जाका कृषि अर्थविज्ञ नारायणप्रसाद पाठकका अनुसार रासायनिक मलको अत्यधिक प्रयोगले माटोको संरचना र गुणस्तरमा नकारात्मक असर पर्न सक्छ। गड्यौले मलले माटोको उर्वराशक्ति बढाउन, चिस्यान कायम राख्न र बिरुवालाई आवश्यक पोषक तत्त्व उपलब्ध गराउन सहयोग गर्ने उनको भनाइ छ।

उनका अनुसार गड्यौले मलमा रहेका पोषक तत्त्व बिरुवाले उपयोग गर्न सक्ने भएकाले यो माटोको स्वास्थ्य सुधार गर्ने उपयोगी जैविक मल हो। तथापि, बालीको आवश्यकता र माटोको अवस्थाअनुसार मलको उचित मात्रा निर्धारण गर्नु आवश्यक हुन्छ।

गड्यौले मलको उत्पादन र बजारीकरणमा वालिङ नगरपालिका, कृषि विकास कार्यालय स्याङ्जा, हेफर इन्टरनेसनल, आस्क नेपाल र आईडीई नेपाललगायत संस्थाले आर्थिक, प्राविधिक तथा अन्य सहयोग गर्दै आएका छन्।

सहकारीले उत्पादन भएको मल प्रशोधन गरी पाँच, १०, २० र २५ किलोका बोरामा प्याकेजिङ गरेर ‘वालिङ गड्यौले मल’ नामबाट बजारमा बिक्री गर्दै आएको छ।

सहकारीकी गड्यौले मल बिक्री शाखाकी व्यवस्थापक अनिता कोइरालाका अनुसार वालिङसहित चापाकोट, भीरकोट, गल्याङ र पाल्पाको रामपुरका किसानले यहाँको मल तथा गड्यौलाको बीउ खरिद गर्ने गरेका छन्। टाढाका क्षेत्रबाट समेत माग आउने गरे पनि सबै ठाउँमा नियमित रूपमा पुर्‍याउन नसकिएको उनले बताइन्।

आलु, गहुँ, तोरी, खुर्सानी, धान, मकै तथा विभिन्न तरकारी बालीमा गड्यौले मल प्रयोग हुँदै आएको छ। सहकारीले ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू भएका सामुदायिक विद्यालयमा समेत गड्यौला पालनसम्बन्धी गतिविधिका लागि सहयोग गर्दै आएको छ।

गड्यौले मल उत्पादनसँग सम्बन्धित सीप सिक्न विभिन्न स्थानबाट किसान समूह तथा संघसंस्था वालिङ आउने गरेका छन्। सिकेको प्रविधि आफ्ना क्षेत्रमा विस्तार गर्न थालेपछि सहकारीले यसलाई गड्यौले मल उत्पादन र अध्ययनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाएको छ।

रासायनिक मलको अभाव, पशुपालनमा आएको कमी र माटोको गुणस्तरप्रतिको बढ्दो चासोका बीच गड्यौला पालन स्याङ्जाका किसानका लागि खेती सुधार र आम्दानीको वैकल्पिक माध्यम बन्दै गएको छ।

साताकाे चर्चित
सम्बन्धित