काठमाडौं,
ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त अवार्ड प्राप्त गर्न सफल भएको छ। यसअघि बैंकले सन् २०२४ र २०२५ मा पनि यो सम्मान प्राप्त गरेको थियो।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
ग्लोबल फाइनान्सले बैंकको वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहककेन्द्रित नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र प्रभावकारी जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको आधार बनाउँदै उक्त सम्मान प्रदान गरेको जनाएको छ।
समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रतिष्ठित वित्तीय संस्थाहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो।
आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवामार्फत बैंकिङ क्षेत्रमा पहिचान बनाउन सफल ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ तथा युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंकले ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेष्ट इम्प्लोयर’ जस्ता पुरस्कारसमेत प्राप्त गरेको छ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ।
लगातार तेस्रो पटक प्राप्त यस अन्तर्राष्ट्रिय सम्मानले बैंकको सेवा गुणस्तर, प्रविधिमा आधारित बैंकिङ सेवा तथा ग्राहकप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। बैंकले आफ्नो प्रगतिमा सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरेको छ।