मकवानपुर ।
बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको सहिद स्मारक दसैँ बिदाको अवधिमा पर्यटकको आकर्षक गन्तव्य बनेको छ। यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ हजार ६९४ जनाले स्मारकको अवलोकन गरेका छन्।
स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीका अनुसार असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म उक्त संख्यामा पर्यटक स्मारक पुगेका हुन्। दसैँको बिदामा यहाँ घुम्न आउनेको संख्या हरेक वर्ष बढ्ने गरेको उनले बताए।
विशेषगरी विजयादशमीको टीकापछि कोजाग्रत पूर्णिमासम्म स्मारकमा पर्यटकको चहलपहल बढी हुने गरेको छ। यस अवधिमा दैनिक दुई हजारभन्दा बढी पर्यटक आउने गरेको बिडारीले जानकारी दिए।
सहिद स्मारकमा नेपालको विभिन्न कालखण्डका सहिदको स्मरणमा निर्माण गरिएको सहिद स्तम्भ प्रमुख आकर्षणका रूपमा रहेको छ। एउटै ढुङ्गामा कुँदिएको स्तम्भमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेटिएको छ। यसमा १२ सहिदका साथै ज्ञातअज्ञात सहिदको प्रतिनिधित्व गर्ने महिला र पुरुषका अमूर्त आकृति पनि राखिएका छन्।
स्मारक परिसरमा रहेको मनमोहन बाटिका, जातीय सङ्ग्रहालय, मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी तथा ग्रीनहाउस र पानीको फोहोरासहितको पार्कले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन्।
दसैँ बिदाको अवधिमा पर्यटकका लागि प्रवेश टिकट बिक्रीबाट ९ लाख ३७ हजार ८६५ रुपैयाँ आम्दानी भएको कार्यालयले जनाएको छ।
लेखा अधिकृत बिडारीका अनुसार विजयादशमीका दिनसमेत स्मारक खुला राखिएको थियो। पर्यटकलाई सहज रूपमा अवलोकनको व्यवस्था मिलाउन स्मारक वर्षभरि, अर्थात् ३६५ दिन नै खुला रहने गरेको उनले बताए।
सहिदको योगदान स्मरण गर्ने ऐतिहासिक स्थलसँगै मनोरञ्जन र घुमफिरका विभिन्न सुविधा उपलब्ध भएकाले हेटौँडाको सहिद स्मारक दसैँ बिदामा परिवारसहित घुम्न आउनेको रोजाइमा परेको छ।