झापा ।
झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनाले ठूलो आर्थिक नोक्सानी पुर्याएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोज महिनामा आगलागीका १२ वटा घटना भएका थिए। ती घटनामा एक जना घाइते भएका छन् भने १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।
यसै अवधिमा जङ्गली जनावरको आक्रमणका नौ वटा घटना अभिलेख भएका छन्। ती घटनाबाट तीन लाख ८९ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। जङ्गली जनावरको आक्रमण वा जोखिममा परेका चार जनालाई उद्धार गरिएको छ।
त्यस्तै, चट्याङका कारण भएको एउटा घटनाबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको विवरणमा उल्लेख छ।
विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न प्रहरीले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। आगलागीबाट बच्न विद्युतीय उपकरणको प्रयोग तथा आगोको व्यवस्थापनमा विशेष ध्यान दिन र वन तथा मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई जङ्गली जनावरबाट सुरक्षित रहन सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।