काठमाडौं ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच उच्च शिक्षामा सहकार्य विस्तार तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीका विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मङ्गलबार भएको भेटवार्तामा नेपाल र साइप्रसबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, शैक्षिक सहकार्य र साइप्रसमा रहेका नेपाली विद्यार्थीको हितका विषयमा विचारविमर्श भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री पोखरेलले विदेशमा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने प्रक्रिया सहज बनाउन मन्त्रालयले काम गरिरहेको जानकारी गराएका थिए । साथै, विदेशबाट प्राप्त शैक्षिक योग्यताको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रियालाई सरल बनाउने प्रयास भइरहेको पनि उनले बताएका थिए ।
मन्त्री पोखरेलले यसअघि त्रिभुवन विश्वविद्यालयमार्फत हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी काम अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी गराएका थिए । उक्त प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधारका कामसमेत अघि बढाइएको उनको सचिवालयले जनाएको छ ।
भेटवार्तामा उच्च शिक्षासम्बन्धी सहकार्यलाई विस्तार गर्ने र विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको हितसँग सम्बन्धित विषयमा समेत छलफल भएको थियो ।