काठमाडौँ ।
सम्भावित भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै पर्यटन विभागले पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ। विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न भागमा प्रतिकूल मौसम हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो।
नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारी वर्षा हुन सक्ने सम्भावना छ। यसबाट बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरोको खतरा पनि रहन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम प्रतिकूल हुँदा पदयात्रा र हिमाल आरोहण जोखिमपूर्ण हुन सक्ने भएकाले विभागले उच्च हिमाली क्षेत्रमा जाने योजना स्थगित गर्न तथा त्यहाँ पुगिसकेका पर्यटक र पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। यात्रासम्बन्धी निर्णय गर्दा सम्बन्धित सरकारी निकायबाट जारी हुने मौसमको पछिल्लो सूचना हेर्न पनि विभागले अनुरोध गरेको छ।
यसैबीच, उच्च हिमाली क्षेत्रमा देखिन सक्ने एक्युट माउन्टेन सिकनेस (उचाइका कारण उत्पन्न हुने स्वास्थ्य समस्या) को उपचार सेवा प्रभावकारी बनाउन विभागले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
खासगरी खुम्बु, मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौँ र पोखराका स्वास्थ्य संस्थामा आवश्यक उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले अपिल गरेको छ।
विभागले मौसमको अवस्था र जोखिमको मूल्याङ्कन गरी यात्रा योजना बनाउन तथा प्रतिकूल परिस्थितिमा अनावश्यक जोखिम नलिन पर्यटक र पर्वतारोहीलाई आग्रह गरेको छ।