एसईई २०८४ का लागि कक्षा ९ को रजिस्ट्रेसन खुल्यो, शुल्क ३०० रुपैयाँ
एसईई २०८४ का लागि कक्षा ९ को रजिस्ट्रेसन खुल्यो, शुल्क ३०० रुपैयाँ
    • बेल संचार

    • १२ कार्तिक २०८३, बुधबार

काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई २०८४ मा सहभागी हुने विद्यार्थीका लागि रजिस्ट्रेसन तथा परीक्षा आवेदन फारम भर्ने सम्बन्धमा सूचना जारी गरेको छ।

बोर्डका अनुसार शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययन गरिरहेका विद्यार्थीले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नुपर्नेछ। रजिस्ट्रेसनका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ शुल्क तोकिएको छ।

यसैगरी, बोर्डले २०८४ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा आवेदन फारम भर्ने समयसीमा पनि निर्धारण गरेको छ।

सूचनाअनुसार नियमित, खुला तथा प्राविधिक धारका विद्यालयमा अध्ययनरत विद्यार्थीले २०८३ कात्तिक १ गतेदेखि मङ्सिर ८ गतेभित्र आवेदन फारम भर्न सक्नेछन्। त्यसका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ परीक्षा दस्तुर बुझाउनुपर्नेछ।

बोर्डले सम्बन्धित विद्यालय तथा विद्यार्थीलाई तोकिएको समयभित्र आवश्यक फारम भरी शुल्क बुझाउन आग्रह गरेको छ।

साताकाे चर्चित
सम्बन्धित