कञ्चनपुर ।
कृषि क्षेत्रमा अध्ययन गरेको सीपलाई आफ्नै गाउँठाउँमा प्रयोग गर्दै आत्मनिर्भर बन्ने उद्देश्यसहित भीमदत्त नगरपालिका–१५ की मेघा रावल पुष्प व्यवसायमा लागेकी छन्।
फूलखेतीमा राम्रो सम्भावना देखेपछि उनले आफ्नै चार कट्ठा जग्गामा सयपत्रीका दुई हजार ४०० बोट रोपेकी छन्। तीनवर्षे कृषि जेटिए अध्ययन पूरा गरेपछि स्थानीय स्तरमै केही नयाँ गर्ने सोचले आफूले फूलखेती सुरु गरेको रावलले बताइन्।
“तीनवर्षे कृषि जेटिए अध्ययनपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले फूलखेतीमा लागेँ,” उनले भनिन्, “बजारमा फूलको माग र सम्भावना देखेर नै मलाई यसतर्फ आकर्षित गरेको हो।”
तिहारलगायत विभिन्न चाडपर्वमा सयपत्री फूलको माग बढ्ने भएकाले यस व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उनको अपेक्षा छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रम, विवाह र अन्य समारोहमा फूलको प्रयोग बढ्दै गएको भन्दै उनले स्थानीय उत्पादनले पनि बजार पाउने सम्भावना देखेकी छन्।
बाहिरबाट फूल आयात गर्नुभन्दा आफ्नै क्षेत्रमा उत्पादन गरेर आम्दानी गर्न सकिने रावलको विश्वास छ। उनका अनुसार परम्परागत खेतीको तुलनामा फूलखेतीबाट दोब्बर आम्दानी गर्न सकिने सम्भावना छ।
यस वर्षको उत्पादन र बजारको अवस्था हेरेर आगामी वर्ष खेती विस्तार गर्ने उनको योजना छ। आफूले अध्ययनका क्रममा सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै कृषि व्यवसायमार्फत आर्थिक रूपमा आत्मनिर्भर बन्ने लक्ष्य रहेको उनले बताइन्।
“यसपटक फूलको माग र बजार हेरेर अर्को वर्ष फूलखेती विस्तार गर्ने योजना छ,” रावलले भनिन्, “आफूले सैद्धान्तिक रूपमा सिकेको सीप प्रयोगमा ल्याउने र आत्मनिर्भर बन्न खेतीले सहयोग गर्छ।”